News Portal

रवि लामिछानेको थुनछेक बहस सुरू, इजलासमै रवि पत्नीले लगाइदिइन् रातो टीका

जनगर्जन संवाददाता२०८१ पौष २९
३३ पटक

काठमाडौ ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबार रविको बयान भएको थियो । आइतबार बयानमात्र भएपछि रविलाई न्यायिक प्रहरीको जिम्मा लगाईएको थियो । अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस सुरु गरिएको हो ।

थुनछेक बहस सुरु हुनुअघि इजलासमै रहेकी रवि पत्नी निकिताले रविलाई रातो टीका लगाईदिएको थिईन् । रातो टिका विजयको शुभ संकेत मानिन्छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले रविको विरुद्धमा बहस गर्ने छन्।

सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्। प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।

प्रतिकृया दिनुहोस्