


२ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहसमा आएका कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको भनी संविधानमा कहाँ लेखिएको छ भनी प्रश्न उठाएका छन् ।
केही दिनअघि प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमले अहिलेका प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार भएको बताएका थिए । आइतबार जवाफी बहस गर्दै रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले त्यस्तो अधिकार हुने भनेर कुन धारामा लेखेको छ भनी सोधेका हुन् ।
‘श्री ३ र श्री ५ भन्दापनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ ?’ उनले सोधे । नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री चयनको संसदीय प्रक्रिया पूरा गरेर मात्र संसद विघटनमा जान सक्ने उल्लेख गरेको भन्दै न्यौपानेले अदालतले पनि संविधानमा नभएको कुरा ब्याया गर्न नसक्ने बताए ।
प्रधानमन्त्रीका कानुन व्यवसायीले प्रधानमन्त्रीले अवशिष्ट अधिकार प्रयोग गरेको भनी गरेको बहसप्रति टिप्पणी गर्दै उनले अवशिष्ट अधिकार भनेको प्रधामन्त्रीले जे गरे पनि हुने भन्ने नहरको बताए । ‘प्रधानमन्त्रीले जस्तो जस्तो गर्यो त्यस्तै मान्दै जाने वा इजलास नै नरहे पनि हुने भयो’ उनले भने ।
