News Portal

  • प्रतिनिधिसभा विघटन विरुद्ध माइतीघरमा नागरिक विरोध प्रदर्शन

    जनगर्जन संवाददाता
    ५३३ पटक

    काठमाडौँ, ३० माघ । प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ ।

    समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।उनीहरूले ‘विधिको शासन कायम गर’, ‘मानव अधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘प्राज्ञिक स्वतन्त्रता कायम गर’लगायत नारा लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

    धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष बुद्धबहादुर थापा, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, चिकित्सक प्रा डा गोविन्द केसी, नेपाल शिक्षक सङ्घका सीता खड्कालगायतले नेपालको संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गर्नुभयो ।

    समाजले मुलुकमा पछिल्ला समयमा बढ्दै गएको बालिका, किशोरी, महिला बलात्कारको सिलेसिलेवार अपराधबाट चिन्तित बनेको उल्लेख गर्दै त्यस्ता सबै घटना छानबिन गरी अपराधीलाई दण्डको कठघरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको थियो ।

    कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजीवी एकै ठाउामा आउनुपर्ने बताए । सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको उनको भनाइ थियो । उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

    नागरिक खबरदारी कार्यक्रममा डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए । ‘प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य हो,’ उनले भने, ‘सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरू एक ठाउमा आउनुपर्छ ।’

    प्रतिकृया दिनुहोस्