News Portal

  • मोरङमा केराघारी भित्र दुई बालिका मृत भेटिए, आमा बेपत्ता

    जनगर्जन संवाददाता२०८१ भाद्र १६
    ५३ पटक

    काठमाडौं । मोरङको एक्क केराबारीमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका-७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया आयिका घर नजिकै केराघारीभित्र मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरुको शव शनिबार साँझ मात्रै भेटिएको हो भने उनिहरुको आमा २९ वर्षीया अम्मिता पौडेल कार्की भने बेपत्ता छिन्। बुवासँग हामीले सोधपुछ गरिरहेका छौँ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ’उनले भने ।

    मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति-पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्।

    ‘उनले यसअघि पनि आफूहरुबीच घर झगडा हुँदा पत्नीले घर छाडेर हिँड्ने गरेको बताएका छन्,’ डीएसपी बस्नेतले भने, ‘उनैले घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो।’

    घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए। उनीहरुले बसेको डेरा नजिकै आफ्नै घर पनि बनाउँदै आएका थिए।

    बालिकाहरुको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा फेला परेको डीएसपी बस्नेतले बताए। बालिकाको शवमा कुनै बाहिरी चोट पटक छैन। छोरीहरुको शव फेला परे पनि अस्मिता कहाँ गइन् केही नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले बालिकाका बुवा अर्जुनलाई निगरानीमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस्