


२९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति विरोध जनाएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्रीको प्रक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’
लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।
