News Portal

  • किन खुलाउँदैनन् पुरुषहरुले हिंसाका घटना, के पुरुष हिंसा हुदैन त ?

    जनगर्जन २०८१ साउन १८
    १८३ पटक

    बागलुङ । नेपाली समाज पित्तृसत्ता बाट उत्पत्ति भएको हो । नेपाल एक पुरुष प्रधान देश हो। राज्यसत्ता देखि हरेक स्तरमा पुरुषहरूको नै पहुँच छ तर पनि हाम्रो समाजमा पुरुषहरु हिंसाको चपेटामा परेका छन । हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटनाहरु एकाधबाहेक अन्य घटनाहरु बाहिर आउन सकेका छैनन । हाम्रो समाजमा अहिलेपनी पुरुषले महिलालाई नै हिंसा गर्छन भन्ने छ, तर महिलाले पुरुषमाथी हिंसा गर्छन् भन्ने कुरा स्वीकार गर्न हाम्रो समाज मान्दैन् । अहिलेको समय परिस्थिति ,तथ्यांक र घटना प्रकृति हेर्दा महिलामाथी हुने हिंसाका घटना धेरै छन् । तर, पुरुषमाथी भएका हिंसाका घटनाले पनि समाजमा हिंसा रहेको तथ्यांक बाहिर आउन सुरु गरेको छ ।

    यसै क्रममा बागलुङको धौलागिरी अञ्चल अस्पतालमा १३ वर्षअघि स्थापना भएको अस्पतालमा आधारित “लैंगिक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्र” मा आजभोली महिलाजस्तै पुरुषहरु पनि हिंसामा परेको भनी पीडित बनेर सेवा लिन आउने क्रम बढेको छ । ‘श्रीमतीले कुटपिट गरेको, हातको कुहिनो फुकालेर र टाउकोभरी चोट र श्रीमतीबाट मानसिक तनाव सहन नसकेर आत्माहत्या प्रयास गरेका पुरुषहरुलाई पनि सेवा र परामर्श दिएका घटना छन्’ उक्त केन्द्रकी स्रोतव्यक्ति देवी भट्टराईले भनिन्, ‘हिंसामा परेका पुरुषहरुलाई घटनाको विषयमा खुलाउनै कठिन हुने गरेको छ ।’

    महिला हिंसा भए आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ,कानुनले महिलालाई संरक्षण गरेको छ, तर पुरुषमाथि हिंसा भए आवाज उठाउने कुनै संघसंस्था नभएको र पुरुषले महिलाबाट पीडित भएको खुल्दा समाजले हेर्ने दृष्टिकोण नै बद्लिने भएकाले र पुरुषप्रधान राज्यमा पुरुष अग्रस्थानमा भएको हुँदा लाज हुने हुदा घटना कम खुल्ने गरेका पाईन्छ । सामाजिक परम्परा र समाजले जबर्जस्ति
    निर्माण गरेको सस्कारले पनि पुरुषहरु खुलेर आउन सकेका छैनन । संकट व्यवस्थापन केन्द्रले १३ वर्षको अबधिमा १ हजार १ सय ५० जना हिंसा पीडितलाई सेवा दिएको छ । त्यसमध्ये १ सय ३७ जना पुरुष पीडित छन् । प्रहरी, अन्य स्वास्थ्य संस्था र विभिन्न माध्यमबाट केन्द्रमा सेवाका लागि आउने पीडितमध्ये अधिकांश महिलाले कानुनी उपचार खोज्ने तर पुरुषहरु कानुनी उपचारमा जान हच्किने गरेका छन् ।

    २०६८ देखि सुरु भएको केन्द्रले लैंगिक हिंसा पीडितलाई निःशुल्क उपचार, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले पीडितको कानुनी उपचार र पुनःस्थापनामा पनि सघाउने गर्छ । गत आर्थिक वर्षमा भने लैंगिक हिंसा पीडित १ सय २२ जनाले सेवा लिएको भट्टराईले जानकारी दिइन् । तीमध्ये बलात्कारमा ११, यौनजन्य दुव्र्यवहारमा ६, शारीरिक दुव्र्यवहारमा १८, मानसिक दुव्र्यवहारमा ५५ र घरेलु हिंसाबाट २२ जना पीडित बनेका थिए । ‘पुरुषको तुलनामा लैंगिक हिंसामा पर्ने महिलाको संख््या ज्यादै ठूलो छ, पछिल्लो समय यौनजन्य हिंसाका घटना बढी देखिन थालेका छन्’ उनले भनिन्, ‘हिंसा सहेर बस्ने, लुकाउने प्रवृत्तिमा पनि कमी आएको छ ।’

    अस्पतालमा आधारित उक्त केन्द्रबाट पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानुनी बाटो समात्न समेत पीडितलाई सहज भएको उनको भनाई छ । बढीजसोः यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् । बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयासजस्ता घटनाका पीडित पनि केन्द्रमा आउँछन् । लैंगिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिन सरकारले ‘ओसिएमसी’ सेवा सुरु गरेको अस्पतालका प्रमुख चिकित्सक डा. रविरञ्जन प्रधानले बताए ।

    ‘यहाँबाट प्रदान हुने सबै सेवा निःशुल्क हुन्छ, लैंगिक हिंसामा परेको जुनसुकै व्यक्ति सोझै केन्द्रमा आएर सेवा लिन सक्छ’ उनले भने, ‘हिंसाका घटना व्यवस्थापनदेखि रोकथाम तथा नियन्त्रणमा समेत केन्द्रको भूमिका रहन्छ ।’ प्रधानका अनुसार अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको छ । अन्य अस्पतालसम्म पुग्नलाई यातायात खर्चसमेत केन्द्रले उपलब्ध गराउँछ ।
    केन्द्रमा बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाबाट समेत लैंगिक हिंसापीडित आउने गरेका छन् । लैंगिक हिंसाबाट पीडित बनेर आउनेमा बढीजसोः १५ देखि ४९ वर्ष उमेर समूहका छन् । ‘९० वर्षकी बृद्धा र चार वर्षकी बालबालिका यौनजन्य हिंसामा परेका घटना पनि छन्’ भट्टराईले भनिन् ।

    प्रतिकृया दिनुहोस्