News Portal

  • सोमबार भएको स्कुलबस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    जनगर्जन संवाददाता२०८१ साउन १४
    १०८ पटक

    पोखरा । पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले मंगलबारदेखि काम थाल्ने र ७ दिन भित्र प्रतिवेदन पेस गर्ने संयोजक आचार्यले बताए ।

    समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी छन् । समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको संख्या, विद्यार्थी राख्न पाउने संख्यालगायत विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

    बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान पोखरा–२१ रामदीमा विद्यार्थीसहित दुर्घटना भएको थियो । दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ

    प्रतिकृया दिनुहोस्