News Portal

  • भूमिहीनलाई धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि हुन दिदैनौँ : मन्त्री तुम्बाहाङ्फे

    जनगर्जन संवाददाता
    ३०४ पटक

    माघ २४, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण गर्दा कानुनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिएकी छिन् ।

    काठमाडौंमा शनिबार भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई कानुनभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएकी हुन् ।उनले धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने समेत चेतावनी दिईन् ।

    ‘ऐनविपरीत जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ’, मन्त्री तुम्बाहाङ्फेको चेतावनी थियो ।भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत रहन पनि उनले आग्रह गरिन् । मन्त्री तुम्बाहाङ्फेले भनिन्, त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईँहरुलाई प्रभावित बनाउने समूह आउँछ, यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’

    आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको भन्दै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।

    सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको कााधमा रहेको बताए ।

    कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूहरुमाथि ९ लाखभन्दा बढीलाई जग्गाको लालपूर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्