News Portal

खै मेरो लोकतन्त्र ?

जनगर्जन संवाददाता२०८१ आषाढ ४
२२५ पटक

जनयुद्ध घोषणा भो
विद्रोह सशस्त्रको
जनता लामबद्ध भो
प्रतिकार दमनको ।

जनपक्षिय अगुवाहरु
जनताका प्रतिनिधिहरु
समातिन्थे नै दिनहुँ
अचम्म थिएन मारिनु ।

बेपत्ता र घाइतेको
गणना नै कहाँ थियो
उठिबास कति हुन्थ्यो
त्याग्नै घरबास पथ्र्यो ।

लक्का जवान बाइसको
बाइसै पुग्यो बिछोडको
अँधेरी थियो बिहानको
असार तीन एकासीको ।

उडी आयो चिलसरी
राज्यको क्रुर सिपाही
टिपि गयो चल्ला लिई
काख आमाको रित्याई ।

पत्तो आजसम्म छैन
सूचना सुइको छैन
छ कहाँ बोलिदैन
देखाउन मानिदैन ।

रक्षा दायित्व उसको
किन भक्षक आफै बन्यो
प्रश्न छ राज्यलाई मेरो
मेरो सन्तान कहाँ गयो ?

बिराम के उसको थियो
हरण किन पो गर्यो
भन लुकाइ कहाँ राख्यौ
भन गोप्यमा किन पार्यौ ?

राखेको तिम्ले नै हो
तिम्ले नै लुकाएको
बचाएनि तिमीले हो
मारे जिम्मा नि तिम्रो ?

बन्दी बनाई राखेकै छौ
खाना पेटभरी दिन्छौ
लुगा नि के दिने गर्छौ
कि नागैं राखेका छौ?

कि लडाएका छौ बाँधि
हलचल नहुने गरी
आखामा कालो पट्टी
कानमा ठेडी कोची ।

भएको जे त्यो भन
गरिएको के त्यो भन
राखेको कहाँ हो भन
छोडेको फेहरिस्त भन ।

भन राख्यौ कि जलमा
देखाउ छ कि थलमा
कि टंच्याइ राख्यौ नभमा
न ढाटी सत्य भनन ।

लिएको काखबाटै थुति
देख्ने आकाश साक्षि
पृथ्वी प्रत्यक्षदर्शी
रोक्न खोज्ने वर्षेझरी ।

आँखाको लाल हाम्रो
संसारमै हाम्रो राम्रो
कठैबरा चिचिलो त्यो
निरीह बेसहारा त्यो ।

ऐय्या आमै नि पुकार्यो
पुकार ब्यर्थै भयो
गुहार हे चिच्यायो
को त्यहाँ गुहार दिन्थ्यो ?

थिए पाल्तु राज्यका
हाम्रै नुनले मात्तिएका
बोलि भाषा बन्दुकका
धाक धक्कु सत्ताका ।

सन्तानको सुइको छैन
मुटु चल्छ कि चल्दैन
आफ्नै धडकन याद भएन
आफ्नै खुनको हक रहेन ।

कस्तो कानून सत्ताको
कस्तो न्याय शासकको
के विवेक राज्यको
के धर्म हो जगतको ?

छ के भनु स्वतन्त्रता
पिरले बाँधिएकी म त
भनु भने गणतन्त्र
खै मेरो लोकतन्त्र ? 

प्रतिकृया दिनुहोस्