


काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनःस्थापना विकल्प नभएको बताएका छन् । आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनःस्थापना विकल्प नभएको बताएका हुन् ।
नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले पुष २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताए । प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलतबाटोमा लागेको उनको भनाई छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाई छ ।
