News Portal

  • कर्णालीको झोलुंगे पुलमा फसेका १४ वटा खच्चडमध्ये ८ वटा निकालियो २ वटा मरे

    जनगर्जन संवाददाता२०८१ जेठ २७
    ११४ पटक

    काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये ८ वटा जीवितै र २ वटा मरेका छन् ।

    अछाम र दैलेख जिल्लाको सिमाना जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।

    दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माका अनुसार पुलमा फसेका १४ मध्ये ८ वटा खच्चडलाई निकालिएको छ । पुलका बाँकी खच्चडलाई तानेर निकाल्ने कोसिस भइरहेको छ । ती खच्चड नदीमा खसाल्दा ढुंगामा पर्ने भएकाले तानेर निकाल्न लागिएको हो ।

    अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।

    लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ । अहिले पुलमा अड्किएका अरु खच्चडलाई पनि निकाल्ने कोसिस जारी रहेको शर्माले बताए । त्यसका लागि पुलको जाली काट्ने काम जारी रहेको शर्माले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्