News Portal

  • सी जाति मान्यताको माग गर्दै प्रधानमन्त्री समक्ष २ लाख हस्ताक्षर पेश

    जनगर्जन संवाददाता२०८१ जेठ २४
    ७० पटक

    काठमाडौ । युवा संगठन नेपालले नेपालमा सी जातिलाई मान्यता दिन जोडदार माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षर पेश गरेको छ । युवा संगठनले जेठ १५ गते देखि १८ गतेसम्म काठमाडौका विभिन्न ठाउँमा संचालन गरेको हस्ताक्षर अभियानबाट संकलन गरिएको २ लाख हस्ताक्षर बुझाएको हो ।

    युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीलको नेतृत्वमा विहिवार प्रधानमन्त्री कार्यालयमा गएको युवाहरुको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्ताक्षर बुझाएको युवा संगठनले जनाएको छ । सेतो कपडामा संकलन गरिएका हस्ताक्षरहरु बुझदै प्रधानमन्त्री प्रचण्डले यसको कानुनी मान्यताका लागि सक्दो कोशिस गर्ने आश्वासन दिएका छन ।

    प्रधानमन्त्रीले जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि युवा संगठनले उठाएको माग नयाँ र सृजनात्मक भएको बताउदै कानुनी मान्यताका लागि पहल गर्ने बताएको युवा संगठनले जनाएको छ । सो क्रममा युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई २ बुदे माग राख्दै ज्ञापनपत्र समेत बुझाएको छ ।

    युवा संगठनले ज्ञापनपत्रमा नेपालमा भइरहेका जातिय उत्पीडनहरुको समाधान सी जातिबाट मात्र सम्भव हुने दाबी गरेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘मानव जाति एउटै जाति हो भन्नेमा समान बुझाई र मान्यता स्थापित गर्नु राज्य र सरकारको कर्तव्य हो ।

    सम्पूर्ण उत्पीडनका जंजिरहरुलाई भत्काएर मानव जातिलाई पृथ्वीमा सुन्दर सपनासहित, समान रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हामी राजनैतिक चेत भएका भौतिकवादीहरुको कर्तव्य हो । सी जाति समान–साम्य जाति हो र सभ्यता हो । एक मानवले अर्को मानवलाई गर्ने शोषणको अन्त्य पनि हो ।

    नेपालमा भइरहेका जातिय उत्पीडनहरुको समाधान सी जातिबाट मात्र सम्भव हुने छ ।’ युवा संगठनले ज्ञापनपत्रमा पहिलो माग नेपालको संविधानको धारा १२ ले बंशीय आधार तथा लैङ्गकि पहिचानसहितको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेकोमा यस धारामा “व्यक्तिले इच्छाएको थर” राख्न सक्नेछ भन्ने व्यवस्था राखि संसोधन गर्न भनेको छ ।
    युवा संगठन नेपालले दोस्रो मागका रुपमा नागरिकता ऐन २०६३ को दफा ८ (क) मा “आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर ठेगाना राख्न पाउनेछ” भन्ने व्यवस्थालाई संसोधन गरि “आमा वा बाबु वा निजले सामाजिक रुपमा मानिसहरुको बिचमा समानता कायम गर्ने उद्दश्यले इच्छाएको थर वा कुनै अक्षर राख्न पाउनेछ” भन्ने कानुनी व्यवस्था गर्न जोडदिएको छ ।

    प्रतिकृया दिनुहोस्