News Portal

  • सीमा विवाद समाधान लागि ओलीले मोदीलाई पठाए यस्तो सन्देश, हर्षवर्धनले दिए वार्ताको निम्तो

    जनगर्जन संवाददाता
    ३६७ पटक

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्। भेटको सुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए।

    भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ।’

    सल्लाहकार भट्टराईले भेटमा प्रधानमन्त्री ओलीले भनेको भनाइ उद्धृत गर्दै भने, ‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ। सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन्। यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु।’

    भारतको गत स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। सोही वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।

    प्रधानमन्त्री ओलीले सचिव हर्षबद्र्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराएका छन्। नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने बताए।

    यता विदेश सचिव श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् । बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ ।

    मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएको स्रोतले अनलाइखबरलाई बतायो । स्रोतले भन्यो, ‘भारतीय विदेश सचिवले नयाँ दिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पठाउनु भएको निम्तो ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।’

    अब केही दिनमा नै यकिन मिति तय हुने अधिकारीहरुले जानकारी दिएका छन् । समग्र द्विपक्षीय विषयहरुमा बुँदागत छलफल गरेर देखिएका समस्या समाधान गर्ने र अन्य द्विपक्षीय संयन्त्रलाई आवश्यक निर्देशन दिने म्यान्डेट सो आयोगलाई छ ।

    सो आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो । त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो । सो बैठक दुवै देशले पालैपालो गर्ने परम्परा छ ।

    कोभिड–१९ र दुई देशको सीमा विवादका कारण नेपाल र भारतको बिचमा रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु गर्ने विषयमा समेत कुराकानी भएको छ । नेपाल र भारतको बिचमा डेढ दर्जन द्विपक्षीय संयन्त्रहरु रहेका छन् जसको नियमित बैठक हुन सकेको छैन ।

    यस अगाडि नै नेपालले विभिन्न संयन्त्रका बैठकका लागि भारतसँग प्रस्ताव गरे पनि अगाडि बढ्न सकेको छैन । नेपालले सबैभन्दा पहिला बाउन्ड्री वर्किङ ग्रुपको बैठक छिट्टै गर्न प्रस्ताव गरेको छ । सो संयन्त्रले सुस्ता र कालापानीबाहेक नेपाल र भारतको बिचमा रहेका अन्य प्राविधिक विषयहरु हेर्ने गर्छ ।

    भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।

    त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ। सचिव श्रृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो।

    नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृङ्गाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा भट्टराईले सचिव हर्षबद्र्धनले परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीचका सहकार्य र आपसी सबै विषयमा छलफल भएको अवगत गराउनुभएको जानकारी दिए।

    सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाएका छन्। बिहीबार बिहान नेपाल आएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका छन्। मन्त्री ज्ञवालीसँगको भेटअघि दुई मुलुकका परराष्ट्र सचिवको औपचारिक वार्ता भएको थियो।

    प्रतिकृया दिनुहोस्