News Portal

  • सही नीति – सही नेतृत्व

    शेर बहादुर विश्वकर्मा २०८१ बैशाख १७
    २१२ पटक

    हरेक सामाजिक क्रान्तिका लागि नीति र नेतृत्वको बिषय महत्त्वपूर्ण सवाल हो । यी दुईवटामा कुन चाहिँ निर्णायक र प्रमुख हुन्छ भन्ने कुरा पनि त्यत्तिकै जरुरी महत्त्वका कुरा हुन् ।
    प्रायः भन्ने गरिन्छ नेतृत्वको जन्म आमाको कोखबाट हुँदैन न त घयो कसैलाई टीका लगाइदिएर घोषणा गर्न मिल्ने कुरा हो बरु नेतृत्व वर्गसंघर्षको निश्चित प्रक्रियाले पैदा गर्ने कुरा रहेछ ।समाजमा वर्गहरु छन्, वर्गहरुबीच पछिल्ला साढे पाँच हजार वर्षयता निरन्तर संघर्ष हुँदै आएका छन।यद्यपि ती संघर्षका स्वरुप, त्यसमा प्रयोग भएका औजार, तिनलाई दिशानिर्देश गर्ने तत्कालीन बैचारिकीमा भने अनेक अन्तरहरु होलान् ।

    समाजमा चल्ने बर्गहरुबीचको आपसी संघर्षले निश्चित बिचारधारात्मक आलोक मात्रै प्राप्त गरेका हुदैनन् , ती संघर्षहरुको केन्द्रमा सामाजिक अगुवा, नेता वा नेतृत्वको भुमिका समेत रहने गरेको हुन्छ।सामाजिक वर्गहरुले आफ्नो आवश्यकता अनुसार नेतृत्व जन्माउछन, पैदा गर्छन् र त्यसको बिकास गर्छन्।यसलाई अर्को तरिकाले भन्दा हरेक आन्दोलनले आफ्नो सापेक्षतामा एउटा नायकको जन्म दिन्छ।यो अनिवार्य नियम जस्तै लाग्छ ।

    माओत्सेतुङले `क्रान्तिका लागि कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ, यदि बिचार र राजनीतिक कार्यदिशा सहि हुने हो भने सबै कुरा प्राप्त गर्न सकिन्छ, बन्दुक, पैसा,सत्ता लगायत जे छैन त्यो प्राप्त गर्न सकिन्छ तर बिचार र कार्यदिशा गलत भएमा भएका सबै कुराहरू समेत गुम्छ्न´ भन्ने निष्कर्ष निकालेपछि नीति नै सबैथोक हो वा बिचार र राजनीति सहि भए भैहाल्छ भन्ने अर्थमा प्रायःहामीले त्यसरी बुझ्ने र ग्रहण गर्ने गरिरहेका हुन्छौं ।

    तर, हामीले नेपालको कम्युनिस्ट- समाजवादी आन्दोलन,त्यसमा नेतृत्वको दृष्टिकोण, वर्गश्रोत, वर्ग चेत जस्ता कुराहरूलाई फेर्केर हेर्यौ भने सहि नीति, कार्यदिशा र राजनीतिले मात्रै नहुँदोरहेछ भन्ने कुरा राम्ररी अनुभुत गर्न सकिन्छ । नीति र नेतृत्व,लाइन र लिडरसिप जस्ता महत्त्वपूर्ण विषयको आपसी अन्तरसम्बन्ध र उचाइबारे हालैको एउटा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले “लाइन सबै कुरा हो तर लिडरसिप पनि त्यत्तिकै महत्त्वपूर्ण र निर्णायक कुरा हो” भन्दै नेतृत्वको सवालमाथी विशेष जोड दिएका थिए ।

    नेपालमा कम्युनिस्ट पार्टी स्थापना, त्यसका विभाजन सफलता -असफलताका जीवन्त अनुभव र मुख्यतः जनयुद्धको तत्कालीन प्रमुख नेतृत्व प्रचण्डको विचलनपछि क्रान्तिकारी पार्टीका लागि नेतृत्वको भूमिका कति निर्णायक हुन्छ भन्ने कुरा थप स्पष्ट भएको छ । सामाजिक आन्दोलन, सामाजिक क्रान्तिको प्रचुरता समाजको वस्तुगत अपरिहार्यता र आधारभूत नियममा भरपर्छ तर त्यसको नायकत्वको अवसर कसले प्राप्त गर्ने भन्ने कुरा आवश्यकता र आकस्मिकताको संयोगमा निर्भर हुने कुरा फ्रेडरिख एङ्गेल्सले उहिल्यै उल्लेख गरिसकेका छन् ।

    जनयुद्ध शुरुआत हुनु संघर्षको तत्कालीन वस्तुगत आवश्यकता थियो, त्यो महत्त्वपूर्ण तत्व हो तर २०५२ साल फाल्गुन१ गते नै शुरुआत हुनु तत्कालीन नेतृत्वको पहलकदमी र क्षमताको कुरा पनि थियो।त्यो अवसर प्रचण्डले प्राप्त गरे ।कैयौं रास्ट्रीय- अन्तर्राष्ट्रिय परिस्थितिका प्रतिकुलताबीच पनि जनयुद्ध अगाडि बढ्यो तर एउटा यस्तो बिन्दु आयो,जहाँ प्रक्षेपण गरिएको भन्दा केही नौला चुनौतीहरु थपिए। फेरिएको परिस्थितिअनुसार आफैलाइ माथी उठाउन सक्ने नेतृत्वको चेस्टाको अभावमा अथवा नेतृत्वको दिमागमा क्रान्तिप्रतिको प्रतिबद्धता डगमगाउन थालेपछि, सोच्ने तरिका यताउता हुन थालेपछि माओवादी आन्दोलन पराजित हुन पुगेको थियो । माओवादीसङ्ग विचार, संगठन, सेना, कार्यकर्ता सबै थियो तर पूर्वघोषित मान्यता र आदर्शअनुरुप क्रान्तिलाई अब डोर्‍याउन सकिन्न भन्ने निष्कर्ष निकालेको नेतृत्वको सोचमा क्रान्ति थिएन । प्रचण्ड मात्रै सहि हुन्थे भने जनयुद्धको परिणाम यो भन्दा बेग्लै हुन्थ्यो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । यतिबेला आन्दोलनको मुख्य पहलकर्ता प्रचण्ड लगायत मुख्य टिम नै बिसर्जित अवस्थामा पुगेको बेला जनयुद्धको तेस्रो, चौथो तहको नेतृत्वद्वारा नेपालको क्रान्तिकारी आन्दोलन पुनर्संगठित हुन खोज्दैछ । आशाका नयाँ किरणहरु देखा परिरहेका छन् । संभवत जनयुद्धको सहायक भुमिकामा रहेको नयाँ पुस्ताले क्रान्तिका भग्नावशेषमा उभिएर नयाँ गोरेटोको खोजी गर्नु हाम्रो समयको आन्दोलनको एउटा युनिक र सुखद पक्ष हो । यस्तो अवस्था संसारमा बिरलै आउछ रे!

    नीति र नेतृत्वको सामञ्जस्यता,परिपुरकता र त्यसको अन्तरसम्बन्धको उचाइ कति हुन सक्ला अथवा के सहि सिद्धान्त र बिचार हुनु मात्रै पर्याप्त हुन्छ ?भन्ने सन्दर्भमा नेकपा पोलिटब्युरो सदस्य सन्देश सी बिचार, सिद्धान्त र नीतिसङ्गै नेतृत्वको सवाल पनि निर्णायक हुने बताउछन् ।उहाँका अनुसार -” विश्व कम्युनिस्ट आन्दोलनका अनुभव हेर्दा बिचारधारात्मक पक्षको जति महत्त्व छ, त्यत्तिकै महत्त्व नेतृत्वको पनि छ।नीति तय भैसकेपछि त्यसको व्यवहारिक अभ्यासद्वारा मात्रै त्यसले पुर्णता प्राप्त गर्छ, सहि नीतिको कार्यान्वयनमा नेतृत्व सफल हुँदा मात्रै कुनै पनि बिचार, सिद्धान्त र नीतिको औचित्य साबित हुने हो, त्यसैले विश्वकम्युनिस्ट आन्दोलनमा सहि नीति भएर पनि नेतृत्वको असक्षमताका कारण क्षती बेहोर्नु परेको इतिहास छ”भन्छन् ।

    `नीति र नेतृत्वको अन्यौनश्रित सम्बन्ध हुन्छ,नेतृत्वले नीति निर्माणको अगुवाइ गर्छ, त्यो नीति, बिचार र योजनालाई संगठनमा लागु गर्ने क्रममा नै नेताहरूको जन्म र विकास हुँदै जाने कुरा हो, त्यसैले लेनिनले कम्युनिस्ट पार्टीलाई नेताहरूको पार्टी भनेको भन्दै नेपाल कम्युनिस्ट पार्टी पोलिटब्युरो सदस्य साबित्रा सी `आस्था भन्छन् -“पदिय जिम्मेवारी र नेतृत्व भन्ने कुरा भिन्न बिषय हुन् , कम्युनिस्ट पार्टीको माथिल्लो तहको पदमा रहनु मात्रै नेतृत्व होईन,नेतृत्व र पदिय जिम्मेवारी फरक कुराहरू हुन, नीति राम्रो हुनु मात्रै पर्याप्त छैन, नीति, नेतृत्व , कार्यकर्ता र जनतासङ्ग भिजेको नेता नै आजको आवश्यकता हो,समकालीन आन्दोलनमा त्यो संभावना कमरेड विप्लवमा देख्न सकिन्छ । “

    त्यस्तै, नेकपा केन्द्रिय सदस्य तथा युवा नेता विपिन सी `नीति र नेतृत्वबीचमा अविभाज्य सम्बन्ध रहने, सहि नीतिको प्रभावकारी एवम् परिणाममूखी कार्यान्वयनको लागि सहि एवम् सक्षम नेतृत्व हुनु जरुरी रहेको उल्लेख गर्दै आजको दुनियाँमा नेतृत्वको बारेमा मार्क्स-एंगेल्सको भनाइलाई आत्मसात गर्नु र तद्अनुरुप नेतृत्व स्थापनामा ध्यान दिनु जरुरी रहेको र गलत तत्वको हातमा नेतृत्व पर्यो भने क्रान्तिको बन्ध्याकरणको खतरा हुने विश्लेषण गर्छन् ।”

    लेनिनले सोभियत क्रान्तिको पूर्वसन्ध्यामा क्रान्तिका लागि स्तुगत र आत्मगत परिस्थिति परिपक्व भएर मात्रै नहुने बरु वर्गसंघर्ष र अन्तरसङ्घर्षबाट खारिएका एक दर्जन प्रतिभाशाली नेताहरुविना लडाइ जित्न नसकिने तर्क गर्नु भएको थियो।स्टालिनको निधनपछि २० औं महाधिवेशन मार्फत ख्रुश्चेभले सोभियत संघका आधारभूत कुराहरू उल्ट्याएका थिए।१९७६ पछि चीनिया संविधान परिवर्तन गरिएको थियो।अन्य असफल भनिएका क्रान्तिकारी आन्दोलनमा समेत नेतृत्वको गिरफ्तारी, मृत्युु वा पराजयपछि उपलब्धिहरु गुमेका छन् ,आन्दोलन बचाउन सकिएको देखिन्न।संघर्षका रणनीति र कार्यनीतिहरुको प्रयोगमा,संसदीय व्यवस्था अन्तर्गत हुने चुनवको उपयोग वा बहिस्कारमा,शान्तिपूर्ण र सशस्त्र तरिकाहरुको सञ्चालनमा,सडक र संसदका मोर्चाहरुमा आखिर आन्दोलन को माग अनुसार जुनसुकै ढङ्गले हिड्दा पनि नेतृत्वसङ्ग योजना हुने हो भने गोलचक्करबाट सजिलै दिशा पक्रिन सकिन्छ भन्ने कुरा तथ्य, तथ्यांक र विश्लेषणबाट पुष्टि गर्न सकिन्छ ।

    नेपालमा अहिले आर्थिक, राजनीतिक संकट छ।अनेक बेतिथी र बिकृतिहरु छन। नागरिकको जीवन खपि नसक्नु पीडाबाट निस्सासिरहेकोछ।देश परनिर्भरता र बाह्य शक्तिको क्रिडास्थलामा बदलिएको छ।नागरिकले यो अवस्थाबाट पार पाउन अनेक कोशिस गरेका छन् , बलिदान गरेका छन् ।उनीहरु कहिले राणा शासन विरुद्ध लड्छन , कहिले पञ्चायतविरुद्ध र कहिले राजतन्त्र विरुद्ध !काङ्ग्रेस, कम्युनिस्ट र माओवादीरुपी यी फरकफरक मोर्चाहरुमा आफ्नो ठाँउबाट लडेकै हुन् जनताले तर संरचनागत परिवर्तन भने भएन।सत्ताले आन्दोलनकारीहरुको सानो हिस्साको मात्रै वर्ग परिवर्तन गरिदिएको छ । किसान, मजदुर, साना व्यवसायी,युवा, शिक्षक,पत्रकार,बुद्दिजीवि सबै सडकमै छन् ।

    पाठकवृन्द!
    हाम्रो अवस्था बदलिन, व्यवस्था पनि बदलिनु पर्दोरहेछ । अन्यथा बलिदान, त्याग, समर्पण र संघर्षका कथा र गाथाले मात्रै नपुग्ने रहेछ । खराबीहरुलाई सामाजिक आर्थिक संरचनाबाट निरपेक्ष रूपमा हेर्नु हुन्न, त्यसो गर्नु हाम्रो कमजोरी हुनेछ। यी सब कामका लागि हामीलाई आजको युग बुझेको, समयचेतनाको बोध भएको एउटा नायक चाहिएको छ,दलाल पुँजीको चङ्गुलबाट देशलाई छुटकारा दिने नीति, कार्यक्रम र नेतृत्व चाहिएको छ।त्यसैले, अन्तमा शिशिर योगीको स्वरमा रहेको नेपाली गितको सारांश यहाँ उदृध गर्दै विट मार्न चाहान्छु ।धन्यवाद !……….

    छाडेर काम सारा, एक काम रोजिरहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु ।
    भेटे कहिँ बताइ हे रास्ट्रका बटुहि
    रक्षार्थ जन्मिएका छन कि सपूत कोहि
    यो प्रश्न ख्याल राखी सबैलाई सोधिरहेछु
    यो देशमा एउटा मानिस खोजिरहेछु।।

    आमा यदि नबाँचे कसको प्यार पिउने
    कुन काखमा रमाउने कसका निम्ति जिउने ।

    मुर्छित मातृभुमिको प्राणको हरणमा
    यो बिषको घडा जो पिउने छ ती रथमा
    त्यस्ता परमप्रतापी, त्यस्ता अजय नायक
    अवतार भएर मानौं भुभार हर्न लायक
    म त्यही महान मानवको मार्ग खोपिरहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु।।

    यो मुल घर ढलेमा ठाँउ कहाँ छ जाने
    होला कुनै त बाटो जोडेर साथ लाने ।

    पाएर शक्ति, सत्ता गर्दैन जो कुकर्म
    आफ्नै शरीर अरुको जो बुझ्छ भित्री मर्म
    सचेतता जगाइ यो देश माथी लाने
    आशा र उन्नतिको दृष्टि दिएर जाने
    म त्यही नयाँ भविस्यको बिज रोपिरहेछु
    यो देशमा म एउटा मानिस खोजिरहेछु।।

    (१७ बैशाख २०८०, बुढानिलकण्ठ)

    प्रतिकृया दिनुहोस्