News Portal

  • कतारका राजा अमिर शेख र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता

    जनगर्जन २०८१ बैशाख १२
    ९० पटक

    वैशाख १२,काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ ।

    भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । यी सबै कार्यक्रमहरु राजा अमिर शेख बसेकै होटल सोल्टीमा बिहान १० बजेपछि हुनेछ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।

    तर नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने आजै हस्ताक्षर हुने छैन । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले हात्ती उपहार दिने सम्झौता भने आजै हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले बताए ।

    उनले भने, ‘हात्ती उपहार दिने भनेर प्रधानमन्त्रीले घोषणा चाहिँ गर्नुहुन्छ तर त्यसमा सम्झौतामा हस्ताक्षर भने हुने छैन, किनभने अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी छ ।’

    होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

    प्रतिकृया दिनुहोस्