News Portal

  • दुबईमा इतिहासकै भारी वर्षा जताततै जलमग्न

    एजेन्सी २०८१ बैशाख ५
    ५८ पटक

    संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा इतिहासकै भारी वर्षा भएको छ। त्यहाँ सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रूप लिँदै असिनासमेत परेको थियो।

    असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरू जलमग्न भएका थिए।

    समाचार संस्था एशोसियट प्रेसका अनुसार दुबईमा सन् १९४९ देखि वर्षासम्बन्धी तथ्यांक राख्न थालिएको हो। यसका आधारमा मंगलबार परेको पानी इतिहासकै भारी वर्षा भनिएको छ।

    पछिल्लो २४ चौबिस घन्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ। वर्षाका कारण सडक नै खोला बनेपछि यातायात अवरूद्ध भएको छ।

    सडकमा रहेका गाडीका आधाभन्दा बढी भाग डुबेको तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले सार्वजनिक गरेका छन्। विश्वमा सबैभन्दा बढी व्यस्त हुने विमानस्थलहरूमध्ये दोस्रो नम्बरमा पर्ने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान प्रभावित भएको छ।

    विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनभित्र समेत पानी पसेको थियो। धावनमार्ग जलमग्न भएपछि उडान प्रभावित भएको त्यहाँको सञ्चारमाध्यहरूले जनाएका छन्। उडान प्रभावित हुँदा मानिसहरू विमानस्थलमै रोकिएका छन्। बुधबार विमानस्थल कार्यालयले उडान सहज हुन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्