


काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।
विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो । भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको ती नेताले जानकारी दिए । सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए ।
भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईका अनुसार दुवै देशबीच बाँकी रहेका मुद्दा आपसी छलफलबाट समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि कुराकानी भएको थियो । सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने कुुरामा जोड दिएका थिए ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगला दुईदिवसीय भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आएका थिए । उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए । शुक्रबार गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् ।
नेपाली मूलकी आमा हरिदेवी बस्नेत र भारतीय बुबा छिरिङ तेन्दुफ्लाका छोरा हर्षवर्धन श्रृंगला गत जनवरी २० मा भारतको ३३ औं विदेश सचिव बनेका हुन् । श्रृंगलाका बुबा छिरिङकै पालादेखि दार्जिलिङमा खुलेको होटल आइभनहो हाउस होटलमा अझै उनीहरूको पारिवारिक संलग्नता छ । ‘द टेलिग्राफ’ पत्रिकाको अनलाइन संस्करणअनुसार भारतकै प्रथम महिला विदेश सचिव (२००१) चोकिला ऐयरका श्रृंगला भतिज हुन् ।
सन् १९८४ मा भारतको विदेश सेवामा प्रवेश गरेका श्रृंगला यसअघि अमेरिका र थाइल्यान्डमा राजदूत तथा बंगलादेशका लागि उच्चायुक्त बनेका थिए । हिमाली पदयात्रामा खुबै रुचि राख्ने उनी नेपालको एभरेस्ट बेसक्याप भ्रमण तथा भारतमा हिमाञ्चलको फ्रेन्डसिप पिक (५२८९ मिटर) आरोहणमा गइसकेका छन् । उनी १९९६ मा कैलाश मानसरोबर यात्राका लियाजन अफिसर बनेका थिए ।
हकी खेलका सौखिन उनले नेपालीसहित फ्रेन्च र भियतनामी भाषा बोल्ने नेपाल मामिलाका जानकार हुन् । बिहीबार बिहान काठमाडौं उत्रिनासाथै नेपाली बोलीमा विदेश सचिव श्रृंगलाले भनेका थिए, ‘पहिले नै नेपाल आउन चाहेको थिएँ तर कोभिडका कारण आउन सकिएन । अहिले यहाँ आउन पाउँदा निकै खुसी लागेको छ ।’
