News Portal

  • होलीमा काठमाडौंमा कडाई ,९० भन्दा बढी ठाउमा चेकिङ गरिने

    भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी

    जनगर्जन २०८० चैत्र १०
    ३८ पटक

    १० चैत्र,काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।

    शनिबार न्युज एजेन्सी नेपालसँग कुरा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिए ।

    काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए। उनले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको जिकिर गरे ।

    उनले भने, ‘होली पर्व आम नेपालीहरूको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरूमा हामीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौँ । राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउनको लागि सुरक्षा प्रबन्ध मिलाएका छौँ । विगतमा भएका जोखिमहरूको मूल्याङ्कन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरू भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरू बनाएका छौँ । त्यही अनुसारको प्रहरी परिचालन गरेका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको सङ्ख्या अत्यधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रूपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा विभिन्न ठाउँहरूमा चोकहरूमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ । अहिले भइरहेका कन्ट्रोल रुम भेहिकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरू अरू रिजर्भहरू सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ । भिडभाड हुने कुरालाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौँ ।’

    उनले होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताए । उनले होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे ।

    वरिष्ठ उपरीक्षक खत्रीले भने, ‘होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र आपराधिक घटनाहरूलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्दछु । कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्दछु ।’

    प्रतिकृया दिनुहोस्