


८ माघ, काठमाडौं । टोखा नगरपालिकाको ८ औँ नगर सभा सम्पन्न भएको छ । ७ औँ नगर सभाबाट पारित बजेट संशोधन भई बढ्न गएको छ । बुधबार सम्पन्न भएको नगर सभाले राजश्व संकलनमा वृद्धि आएपछि बजेट बढ्न गएको हो । नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले आ.व. २०७७/७८ को संशोधित बजेट तथा कार्यक्रम प्रस्ुतत गरेका थिए । पौष मसान्तसम्म टोखा नगरपालिकामा बाह्य तथा आन्तरिकबाट राजश्व संकलन भई आम्दानीमा १ अर्व ३१ लाख ११ हजार आम्दानी भई कुल ७०.५३ प्रतिशत आम्दानी भएकाले थप आम्दानी हुने रकम २४ करोड ५२ लाख १६ हजार अनुमानित आय देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को ६ महिना बित्दै गर्दा टोखा नगरपालिकामा पूर्वाधार तर्फ भौतिक प्रगति १८.२५ प्रतिशत रहेको छ भने वित्तिय प्रगतिमा १६.०३ प्रतिशत रहेको छ । टोखा नगरपालिकाले पौष मसान्तभित्र ७५.१३ प्रतिशत आम्दानी गरेको छ । टोखामा यो ६ महिनाको अवधिमा न्यायिक समितिमा २७ मात्र उजुरी परेका छन् ।
टोखा नगरपालिकाले स्थानीय सरकारको यो ५ वर्षे कार्यकालभित्र धेरैभन्दा धेरै पूर्वाधार विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्य लिएर अघि बढेको छ । अहिले धेरैजसो वडाहरुमा सिमित गल्ली सडकबाहेक धेरै बाटोहरु निर्माण सम्पन्न भइसकेका छन् ।
यस्ता छन हाल सम्म गरेका टोखा नगरपालिका ठूला कामहरू :
– गत आर्थिक वर्षमा कोराना महामारीका कारण सोचेअनुसार विकास निर्माणका कार्य हुन नसकेपनि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नगरपालिकाले ठूलो सफलता हात पारेको छ ।
– गत आर्थिक वर्षको अन्तमा टोखा वडा नं. ८ र ११ जोड्ने मनोरथ तिर्थ पुल ३ करोड २३ लाख ३६ हजारमा निर्माण सम्पन्न ।
– टोखा चण्डेश्वीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पताल बनाउनुका साथै आइसोलेसन वार्ड बनाएर बिरामीको उपचार गराउन सफल ।
– टोखा १ मा रहेको बौंडेश्वर बालमैत्री पार्कको पहिलो चरणको कार्य ३ करोड १२ लाख ७३ हजारमा काम सम्पन्न भई ९० प्रतिशत भौतिक सम्पन्न भई यसै आर्थिक वर्षभित्र कार्य सम्पन्न हुने ।
– एक वडा एक पार्क कार्यक्रम अन्तर्गत टोखा ५ को कल्कि नारायण मन्दिर परिसर पार्क निर्माण कार्य सम्पन्न गर्नका लागि १ करोड ७५ लाख लागतमा निर्माण कार्य दुर्त गतीमा ।
– नगरपालिकाको प्रशासनिक भवन २ वर्षभित्र निर्माण सम्पन्न हुनेगरी १३ करोड ट५ लाख १९ हजारमा काम सुरु ।
– काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहयोगमा ३ ओटा डिप बोरिङ निर्माण सम्पन्न भइसहेको हुँदा अर्को ३ ओटा डिप बोरिङको सञ्चालनको लागि कार्य अघि बढेको ।
– वडा नं. ८ को मिलनटोल–ग्राण्डी भिला–सुन्दरवस्ती सडक ७० लाखको लागतमा कालोपत्रे सम्पन्न ।
– टोखा वडा नं. २ र ३ को सिमाना टोखाबजारमा ९० लाख ३० हजारमा ढुंगा छाप्ने कार्य अन्तिम चरणमा ।
– टोखा वडा नं. ९ र ११ को वडा कार्यालयको भवन निर्माणका लागि २ करोड ६५ लाख ४२ हजार र २ करोड ५ लाख ८९ हजारमा ठेक्का भई निर्माण कार्य तीव्र गतिमा । त्यस्तै वडा नंं २ र ६ को भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको ।
– वडा नं. ३ को धनेश्वर–बालुवापाटी–भत्केको पुल सडक स्तरउन्नतीका लागि बागमती प्रदेस सरकारको समपुरक कोष साझेदारी सहयोगमा सडक स्तरोन्नती गर्न आर्थिक वर्ष २०७७/७८ मा २ करोड बराबरको कार्य सम्पन्न हुनेछ ।
– वडा नंं. ७ को तिलिङटार माध्यमिक विद्यालयलाई नमुना विद्यालयको गुरुयोजनाअनुसार आवश्यक पूर्वाधार निर्माण गर्न गुरुयोजनाअनुसार विनियोजित रकमबाट भवन निर्माणको कार्य अगाडी बढेको ।
– वडा नं. २ मा रहेको सपनतिर्थ मन्दिर पुल निर्माण ९३ लाख ९२ हजारमा ठेक्का सम्झौता भई काम अगाडी बढेको छ ।
– वडा नं. २ कै सौन्दर्यको रूपमा रहेको गणेशपोखरीलाई सजावट गर्न २० लाख लागतमा बँगैंचा निर्माणका साथै रुख बिरुवा रोप्ने कार्य अन्तिम चरणमा ।
– वडा नं. २ र ३ को ऐतिहासिक टोखा पुरानो बजारमा प्रवेश गर्ने विभिन्न भागहरुमा पञ्चद्वारहरु निर्माण गर्ने कार्य सम्पन्न गरिनेछ ।
– भूतखेल चउरलाई उपत्यकाकै उत्तरी भेगको नमुना खेलमैदानको रुपमा विकास गरेर जाने योजनाका साथ कार्य अगाडी बढाउने ।
– वडा नंं. ३ को झुडोल बस्तीको ढल व्यवस्थापनका लागि ७५ लाख बजेट विनियोजन भएर चालु आर्थिक वर्षभित्रै कार्य सम्पन्न भइसक्ने ।
– वडा नं. ४ को लामपाखा पार्कको लागि चालु आ.व.मा बजेट स्विकृत गरी बहुवर्षिय योजनामा समावेश गरी कार्य अगाडी बढाउने ।
– वडा नं. ५ को वि.एन. मार्ग ढल तथा बाटो निर्माण चालु आ.व.मा थप बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्ने । सातौं नगरसभाले पारित गरेका योजनाहरु चादु आ.व.मा अधिकांश पुरा हुनेछ ।
– सुर्यडाँडा पार्क तथा हरिहरि आश्रमको निर्माण व्यवस्थापनका लागि बजेट विनियोजन भइसकेको ।
– वडा नं. ८ का कालोपत्रे सडकहरुमा ओभर ले गर्ने । ढल निकास नभएका स्थानहरुमा ढल निकासको लागि आवश्यक बजेटको व्यवस्था गरी चालु आ.व. भित्र निर्माण कार्य सम्पन्न गर्ने ।
– वडा नं. ११ मा शहरि स्वास्थ्य केन्द्र भवन निर्माणका लागि प्रदेस सरकारबाट सर्सत कार्यक्रमबाट प्राप्त रकमलाई चालु आ.व. मा खर्च गर्ने गरी नपुग रकम बहुवर्षे योजनामा समावेश गरी भवन निर्माण सम्पन्न गर्ने ।
– संशोधित बजेटबाट नगरपालिकाभित्रका सबै वडाहरुलाई ५०–५० लाख वितरण गर्ने ।
– सामुदायिक विद्यालयमा सञ्चालित मेयर दिवा खाजा कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने ।
– मेयर उज्यालो कार्यक्रम अन्तर्गत पहिलो चरणमा मुख्य–मुख्य सडकहरुमा सडकवत्ती जडान कार्यको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको । दोस्रो चरणमा भित्री सडकहरुमा पनि सडकवत्ती जडानका लागि सर्भे भइसकेको ।
– सडक सुरक्षा अन्तर्गत सडकमा सिसिटिभी जडान कार्यको सर्भे अन्तिम चरणमा पुगी ठेक्का प्रकाशनको अवस्थामा रहेको ।
– सडक सुरक्षा अन्तर्गत ट्राफिक सिग्नल राख्ने कार्यको लागि आवश्यक बजेट व्यवस्था गरी अविलम्व उक्त कार्यको थालनी गर्ने ।
– वडा नं. १० मा रहेको राधास्वामी सत्संग व्यास नेपाललाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५ को (ङ) र (च) मा भएको व्यवस्थाअनुसार सम्पत्ति कर नलाग्ने व्यवस्था रहेको वडा कार्यालयलाई जानकारी गराउने कार्य भएको ।
टोखा नगरपालिकाभित्र स्थानीय सरकार आइसकेपछि भएका कामहरुको झलकहरु :
– २८,९७५ मिटर सडक कालोपत्रे सम्पन्न ।
– ३८९७५ मिटर सडक ढलान कार्य सम्पन्न ।
– १३७४ मिटर सडकमा व्लक/इट्टा बिछ्याउने कार्य सम्पन्न ।
– २४७९ मिटर हिमपाइप विस्तार ।
– २३७५ मिटर खानेपानी पाइप विस्तार सम्पन्न ।
– ५ ओटा खानेपानी डिप बोरिङ निर्माण सम्पन्न ।
– १९७५ मिटर खोला किनारमा वाल निर्माण सम्पन्न ।
– ५ ओटा पार्क निर्माण सम्पन्न । २ ठूला पार्कको पूर्वाधार सम्पन्न हुँदै ।
– मनोरथ तिर्थमा १ ओटा गाडी चल्ने पुल निर्माण सम्पन्न ।
– २३ ओटा सामुदायिक विद्यालय तथा भवन निर्माण जसमा ४० कोठा रहेका छन् ।
– वडाको योजनामा ५७५ ओटा सडक वत्ति राखिसकको मुख्य सडकमा मेयर उज्यालो कार्यक्रम सुरु हुने तयारीमा ।
– वडा र नगरपालिकाको योजनामा ३५ ओटा सिसिटिभी जडान सम्पन्न ।
टोखा नगरपालिकाले आर्थिक विकास अन्तर्गत उद्योग तथा वाणिज्य, कृषि, पशु पर्यटन, वित्तिय क्षेत्र र सहकारी क्षेत्र रहेका छन् । यसमा १ करोड ८० लाख १ हजार बजेटबाट पौष मसान्तसम्म कुल बजेटको १.१४ प्रतिशतमा हालसम्म १४.०० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
सामाजिक विकास तर्फ : खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, शिक्षा, स्वास्थ्य, संस्कृति प्रवद्र्धनमा १३ करोड ५७ लाख ९४ हजार बजेटमा कुल बजेटको ८.५७ प्रतिशत रहेकोमा हालसम्म २६ प्रतिशत खर्च भइसकेको छ ।
पूर्वाधार विकास : अन्तर्गत ऊर्जा, भवन तथा सहरी विकास वैबल्पिक ऊर्जा र सञ्चार सडक क्षेत्रमा कुल ९५ करोड ५ लाख ८४ हजार बजेट रहेको छ । कुल बजेटको ६० प्रतिशत हो । यसमा १७.२२ प्रतिशत मात्र खर्च भएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन तर्फ : वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल साइडको व्यवस्थापन, वन तथा भू–संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनलाई समेटिएको छ । यस शीर्षकमा कुल ७ करोड ३३ लाख ३६ हजार बजेट रहेको छ । कुल बजेटको ४.६३ प्रतिशत हो । यसमा २१.४२ प्रतिशत बजेट खर्च भएको छ ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ : अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संशाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखा परिक्षण, राजश्व परिचालन, संस्थागत क्षमता विकास लगायतको शिर्षकमा ४० करोड ६४ लाख ६२ हजार बजेट रहेको छ । यसमा कुल बजेटको २५.६६ प्रतिशत हो । हालसम्म ५१.७७ प्रतिशत बजेट यसतर्फ खर्च भएको छ ।
टोखा नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा कुल राजश्व असुलिको अनुमान रु. १ अर्व ४२ करोड २२ लाख ७ हजार रहेको थियो । जसमध्ये आन्तरिक स्रोत सेवा शुल्कबाट १५ करोड अनुमान गरिएकोमा हालसम्म ७ करोड ६७ लाख ८१ ह्जार संकलन भएको छ । यो कुल अनुमानितमा ५१.१९ प्रतिशत हो । बाह्य स्रोतबाट १ अर्व २७ करोड २२ लाख ७ हजार अनुमानितमा अहिलेसम्म ९९ करोड १६ लाख ८८ हजार आम्दानी भएको छ । यो ७७.९५ प्रतिशत हुन आउँछ । समग्रमा नगरपालिकाको कुल आम्दानी ७५.१३ प्रतिशत हो ।
टोखाको न्यायिक समितिमा २७ उजूरी मात्र
टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २७ उजूरी दर्ता भएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएको लगायतका उजूरी दर्ता भएका हुन् ।
न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद, महिला हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिए । सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरीपाउँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् ।
टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ उजूरी परेका थिए । आव २०७६/०७७ मा दर्ता भएका ३९ उजूरीमध्ये छ वटा निर्णय गरिएको, आठ मुल्तबीमा रहेको, एक काठमाडौँ जिल्ला अदालतमा पठाएको, नौ मिलापत्र गरिएको र बाँकी १३ वटा कारबाहीको प्रक्रियामा रहेको संयोजक डङ्गोलले बताए ।
टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहेका छन् । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रुपमा रहेका छन् । नगरपालिकामा आउने उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।
चालू आर्थिक वर्षमा न्यायिक समितिमा उजूरी गत वर्षका तुलनामा आउने क्रम बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिनपनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताए ।
