News Portal

  • ४ वर्षपछि रिहा भएका नेताकार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    १२२ पटक

    शोभराज बराल
    काठमाडौं– राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताइरहेका नेपाल कम्युनिस्ट पार्टीका १० जना नेता तथा कार्यकर्ता रिहा भएका छन् । विभिन्न कारागारमा जेल जीवन बिताइरहेका उनीहरु मंगलबार रिहा भएका हुन् । अदालतको आदेशपछि रिहा भएका उनीहरुलाई नेकपा केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।

    रिहा हुनेमा उदयपुरका नरेन्द्र तामाङ, इलामका मुस्कान राई, उदयपुरका सन्तोष तामाङ, भोजपुरका मणीराम राई र विशाल राई, कृष्णा लिम्बू, मुगुका आशा रावत जुनिमायाँ वड, संखुवासभा दिपक विष्ट रहेका छन् । उनीहरुलाई नेकपा स्थायी समिति सदस्य विषम सी, सुशील सी, पोलिट ब्युरो सदस्य कृति सी, माइला सी तथा केन्द्रीय सदस्य भृकुटी सी, चिरन्जीवि सीले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै रिहा भएका सबैले आफ्ना अनुभूतिहरु राखेका थिए ।

    आन्दोलन क्रान्तिमा लागेपछि जेलजीवन भोक्नु पर्छ भन्ने कुरा थाहा भएर लागेका कारण जेलको बसाई सहज भएको उनीहरुको भनाई थियो । जेल पर्दा आफूहरुलाई क्रान्तिमा लाग्न थप प्रेरणा मिलेको भन्दै पार्टीले क्रान्तिकारी धारलाई छोड्न नहुने उनीहरुको सुझाव थियो । जेलमा बस्दा धेरै खालमा समस्याहरु आएको बताउँदै त्यसको सामना गरेर खुल्ला आकाशमा आउँदा आफूलाई खुशी लागेको सबैको प्रतिक्रिया थियो ।

    कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सीले पार्टीमाथि प्रतिबन्द लाग्नुका कारणदेखि पार्टी फुट हुँदै समाजवादी मोर्चासम्म आउँदा पार्टीले लिएको रचनात्मक पहलहरुको बारेमा प्रष्ट पारेका थिए । पार्टी फुट्दा जेलमा रहेका थुप्रै नेता, कार्यकर्तामा भ्रम परेको भन्दै कन्चन सुर्दशनले फुटको औचित्व पुष्टि गर्न नसक्दा भ्रम आफै चिरिएको बताए । कञ्चन, सुदर्शन भाग्दा कमजोर भएको पार्टी धु्रविकरणको नीतिले तीन पार्टीसँग एकता गर्दा पुरानै स्थितिमा फर्किएको उनको भनाई थियो ।

    कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सुशील सीले आफ्नो भागमा परेको जेल मोर्चा जितेर आएको सबैलाई बधाई दिए । केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले क्रान्तिले मागेको बलिदानको कोटा जेल मोर्चाबाट चुक्ता गरेकामा बधाई दिदै लक्ष्य प्राप्तिका लागि संघर्षलाई निरन्तरता दिनुपर्नेमा सुझाव दिए । उनले गन्तव्यमा पुग्नका लागि सहि बाटो हिड्न पर्ने भन्दै नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यमा पुग्न पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्ति सहित बाटो भएको धारण राखे ।

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कानून विभागका इन्चार्ज चिरनजीवि सीले उहाँहरु पार्टीको बल, वकिलहरुको जोडदार प्रस्तुती र अदालतको सहयोगका कारण रिहा भएको बताए । उनले रिहा भएकोमा बधाईसहित खुल्ला आकाशमा स्वागत गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भएर पुनः अभियानमा जोडिन अपिल गरे । कार्यक्रमको सञ्चालन नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्