News Portal

  • अरू थुनुवा महिलालाई ‘उक्साउँछिन्’ शर्मिला वाइबा, प्रहरीलाई हैरानी

    बयान दिँदा समेत प्रहरीमाथि नै जाइलाग्ने

    जनगर्जन संवाददाता२०८० फाल्गुण २७
    ५७ पटक

    काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

    उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अनुसार शारीरिक पीडा तथा कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान जारी राखेको छ । प्रहरीले २४ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

    शर्मिलामाथि अनुसन्धान सुरु गरिएको आइतबार १२ दिन पुगेको छ । सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिला हाल प्रहरी वृत्त महाराजगन्जको थुनामा छिन् ।

    उनीविरुद्ध कुटपिटसम्बन्धी अभियोग पुष्टि भएमा अधिकतम तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ

    सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न व्यक्तिहरूको चरित्र हत्या हुने अभिव्यक्ति दिँदै आएको पनि उनीमाथि आरोप छ ।

    शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रहरीको थुनुवाकक्षमा हाल १० महिला थुुनुवा राखिएको छ ।

    उनीहरूलाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरानी दिने गरेको महाराजगन्ज प्रहरीको भनाइ छ । बयान दिँदा समेत उनी प्रहरीमाथि नै जाइलाग्ने गरेको बताइएको छ । उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ ।

    शर्मिलामाथि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिइएको छ । पवन र उनकी श्रीमती सुम्निमाबीचको विवादका क्रममा पवनमाथि हातपात गरेपछि उनी प्रहरीको थुनामा बस्नुपरेको हो ।

    प्रतिकृया दिनुहोस्