News Portal

  • पूर्व राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

    जनगर्जन संवाददाता
    १००५ पटक

    काठमाडौं । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

    यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए । उनको वर्खास्तिसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएकी छन् ।
    तर हालैमात्र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका दुगडले आफु राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्ती दिएको बताएका छन् ।

    निकै खुशी छु जुन सरकारले मेरो राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै मलाई पुनःप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्ति दिएको छ दुगडले भने प्रधानमन्त्रीले मलाई डा.युवराज खतिवडाको ठाउँमा ल्याउनु भएको छ ।

    दुगडका अनुसार उनले आजै मात्र विशेष आर्थिक सल्लाहकारको नियुक्तिपत्र पाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् । योसँगै दुगडले अब मन्त्री सरहको सेवा सुविधा पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्