News Portal

  • आजको दिन गोलिले हारेको दिन हो।र बिचारले जितेको दिन हो।विप्लव सी।

    जनगर्जन संवाददाता२०८० फाल्गुण २१
    ३६ पटक

    शोभराज बराल: काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आजको दिन गोलीको हारेको दिन भएको बताएका छन् । शहिद सप्ताहको अवसरमा सहिद प्रतिष्ठानले आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत् अन्तरक्रियामा बोल्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन् ।

    सामान्ति सत्ताले सुखानी जंगलमा युवाहरुबाट डराएर गोली चलाएको भन्दै विप्लवले त्यही गोलीले नेपालको सामान्ति सत्ता ढलेको बताए । ‘आजको दिन सुखानीको जंगलमा ५ जना युवाहरुले जनवाद र वैज्ञानिक समाजवाद, साम्यवादको सपना देख्दै सहर्ष वलिदान गरेको दिन हो ।’, विप्लवले भने, ‘विचारले जित्छ की गोलीले जित्छ भनेर नेपालमा भिषण लडाई चलेको थियो । पञ्चायतका निरंकुश सामान्तहरुले गोलीद्वारा न्यायका आवाज र सपनालाई धोस्त पार्न चाहिरहेका थिए । तर पाँचजना युवाहरुले गोलीले परास्त गरिदिए ।’

    त्यही गोलीले वलिदान दिएका पाँच जना सहिदका कारण नेपालको पञ्चायत ढलेको उनको भनाई थियो । ‘अन्तत पाँच जना युवाहरुको वलिदानीबाट उठेको पञ्चायत विरोधि आन्दोलनले नेपालको पञ्चायतलाई धरासायी बनाएर, धुलोपिठो पारेर पछारिदियो र पञ्चायतलाई सदाका लागि पुरिदियो ।’, उनले भने, ‘त्यसकारण आजको दिन गोलीले हारेको दिन । विचारले जितेको दिन, सपनाले जितेको दिन । नेपालका प्रिय छोराछोरीले जितेको दिन हो ।’

    कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मा पनि क्रान्तिकारीहरुकै भएको बताए ।

    उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए । उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको जिकिर गरे । उनले भने, ‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भूमिका छ । तर जो मान्छेहरूले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरू सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ती मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ ।’

    महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाई छ ।

    कार्यक्रमको अध्यक्षता शहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मसिला चापाँगाईले गरेका थिए भने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्