


माघ ४, काठमाडौँ । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले लडेर ल्याएका उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले उत्सव मनाउन नसक्ने बताएका छन् ।प्रचण्डले सात दशक लडेर ल्याएको उपलब्धिमाथि प्रहार हुँदा खुशी भएर चुपचाप बस्न नसक्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मान्छेलाई हँसाए भनेर किन पीर परेको होला भनेर मलाई प्रश्न गरेको भन्दै जवाफमा प्रचण्डले आफुलाई पिर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको बताए । मान्छे मर्यो, बा आमा मरेपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्ताको बेला हामी कमेडी गर्न सक्दैनौं, हाँस्न सक्दैनौं । तपाई त्यस्तो मान्छे हुँनुहुँदो रहेछ।
प्रचण्डले संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रमाथिको प्रहारले देश स्तब्ध हुँदा पनि प्रधानमन्त्री ओली भने हाँस्दै हिँडेको आरोप समेत लगाए ।गणतन्त्रको उत्सवमा जनता नाच्दै हिँड्दा ओली रुदै हिडेको भन्दै उनले अहिले भने गणतन्त्रको हत्या हुँदा ओली खुशीयाली मनाउदै हिडेको बताए ।
आज तपाईंले संविधानमाथि प्रहार गर्दा सिंगो देश स्तब्ध छ, तपाईं हाँस्दै हिँड्नुभएको छ । विचित्र यही भयो भनेको मात्रै हो । तपाईंको उल्टो खोपडी देखेर अनौठो भाव व्यक्त गरेको मात्रै हो । जति कमेडी गर्न चाहनुहुन्छ गर्नुस् । तपाईंलाई त्यो स्वतन्त्रता छ । तर, तपाईंको कमेडी जोकरले देखाएको जोकिङ् बाहेक केही होईन भन्ने अधिकार हामीलाई पनि छ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले दिँदै आएको आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने भन्ने कुरा जनतालाई मूर्ख बनाउन दिईएको अभिव्यक्ति भएको आरोप लगाए ।
अख्तियार र अदालतमा भ्रष्टाचारका मुद्दा रहेकाहरूलाई पनि न्यायाधीश बनेर प्रधानमन्त्री ओलीले सफाइ दिने गरेको प्रचण्डको आरोप थियो । निर्वाचन आयोग र सर्वोच्च अदालमाथि आफूहको भरोसा रहेको पनि दोहोर्याएका थिए ।
