News Portal

  • सम्पत्ति शुद्धीकरणको आरोपमा सुनिल कुमार सिंह दोषी ठहर

    जनगर्जन संवाददाता२०८० फाल्गुण १५
    ४७ पटक

    काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।

    न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो ।

    विशेष अदालतले उनी सहित मीना कार्कीले पनि सम्पत्ति लुकाउन सहयोग गरेको ठहर गरेको छ । उनीहरुले अपराधबाट आर्जन गरेको रकम घरजग्गा खरिदबिक्रीमा लगानी गरेको देखिएको भन्दै कसुरमा संलग्न भएको निष्कर्ष निकालेको हो ।

    उनीहरुलाई कसुर निर्धारणका लागि २४ फागुनमा पेश गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनीहरुविरुद्ध २४ फागुन, २०७९ मा मुद्दा दायर भएको थियो ।

    भारत देवरियाका सुनिल कुमार सिंह विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर गैरकानूनी रुपमा सम्पत्ति जोडेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आरोप थियो ।

    उनीमाथि अपहरण तथा शरीर बन्धक, अवैध हातहतिरयार र झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोप थियो । ती सबै आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको विभागको दावी थियो ।

    विभागले सिंह सहित उनकी श्रीमती मिना कार्कीले विभिन्न बैंक तथा वित्तिय संस्थामा १८ वटा खाता खोली रकम संकलन गरेको आरोप लगाएको थियो । विभागले सुनिलमाथि एक करोड ५५ लाख र मिना कार्कीमाथि एक करोड ६० लाख रुपैंया विगो मागदावी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्