


१ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् ।
माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गरेका थिए । भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी लीएका थिए । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन । अहिले संवैधानिक इजलास कि पूर्ण भन्ने नै टुंगिएको छैन । त्यसपछि मात्रै अरु भन्न सकिन्छ’, नेम्वाङको ब्रिफिङ थियो ।
पुस ५ मा संसद् विघटनलगत्तै नेकपा विभाजित भएकाले मन्त्रीहरु पनि अहिले देश दौडाहामा छन् । बालुवाटार पुगेका मन्त्रीहरुले पनि पार्टी गतिविधिबारे ओलीलाई ब्रिफिङ गरेका थिए ।
स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुलाई ओलीले अब घोषणापत्र लेखनदेखि निर्वाचन परिचालनको योजना बनाउनेतिर सोच्न समेत निर्देशन दिए । ‘निर्वाचनको लागि अब अगाडि बढ्नुपर्छ । निर्वाचनको आशंका चिर्ने गरी वातावरण हामीले नै बनाउनुपर्छ । मेची-महाकाली आधार तयार गर्नुहोस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
अनौपचारिक छलफल भनिएकाले कुनै निर्णय भने भएन । तर, आजको छलफल र अनौपचारिक ब्रिफिङले निर्वाचनको तयारीमा लाग्ने आधार बनाएको एक स्थायी कमिटी सदस्यले बताए ।
