काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुसँग नेपाली नागरिकता रहेको पाइएको छ।

६० किलो सुन प्रकरणमा पक्राउ परेका सातजना चिनियाँसँग नेपाली नागरिकता रहेको खुलेको सीआईबी स्रोतले जनाएको छ। सीआईबीले उनीहरुको साथबाट नेपाली नागरिकता र राहदानी बरामद गरेको हो। उनीहरु सातैजनाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको पाइएको सीआईबीले जनाएको छ। उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।