News Portal

  • एमालेले स्थायी कमिटी सदस्य थापासङ्ग स्पष्टीकरण लिने, स्थापित र यादवलाई बिदाइ

    एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनि टिप्पणी गरेपछि अध्यक्ष केपी शर्मा ओली उनीसँग रुष्ट रहेका थिए

    जनगर्जन संवाददाता
    २१९ पटक

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ । लामो समयदेखि पार्टी गतिविधिमा अनुपस्थित भएको भन्दै स्पष्टीकरण लिन लागिएको जनाइएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । ‘मणि थापा पार्टीमा सक्रिय रहनु भएको देखिएको छैन । त्यस विषयमा जानकारी लिन खोजिएको छ,’ गौतमले भने । गत जेठमा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा थापा छुट्टीमा रहेको उल्लेख गरिएको थियो । एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनि टिप्पणी गरेपछि अध्यक्ष केपी शर्मा ओली उनीसँग रुष्ट रहेका थिए । ओलीले नेतृत्वमा रहेको मानिसले दक्षिणपन्थी भनेपछि कसरी सँगै काम गर्ने भन्ने प्रश्न गरेसँग थापा एमालेका गतिविधिहरूमा कमै उपस्थित हुन थालेका थिए ।

    त्यसैगरी एमालेले काठमाडौं महानगरपालिकामा पूर्वमेयर केशव स्थापित र प्रमोद यादवलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले स्थापित र यादवले सोमबार बसेको सचिवालय बैठकले बिदा गरेको बताए । स्थापित र यादवको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनीत गरेको छ । ‘केशव स्थापितले केन्द्रीय कमिटीबाट हट्न चाहनुभयो । प्रमोदनारायण यादवलाई पनि बिदा गरिएको छ’ गौतमले भने, ‘उहाँहरूको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय कमिटीमा ल्याइएको छ ।’ न्यौपाने एकीकृत समाजवादीबाट र लामा माओवादीबाट एमालेमा आएका हुन् । लामो समय काठमाडौंमा राजनीतिमा सक्रिय रहेका स्थापित कुनै समयमा एमालेका चर्चित युवा नेता हुन् । स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

    २०४७ सालमा बहुदलीय व्यवस्था पुन:स्थापना हुनेबित्तिकै एमालेले गठन गरेको प्रजातान्त्रिक युवा संघमा केपी शर्मा ओली अध्यक्ष हुँदा स्थापित महासचिव रहेका थिए । एमालेबाट विभाजित भएर मालेतर्फ लागेका स्थापित राजा ज्ञानेन्द्रको सक्रिय शासनको त्यसतर्फ लागेका थिए । पछि नेपालको सबैभन्दा पुरानो राजनीतिक दल प्रजापरिषदको नेतृत्व गरेका स्थापित एमालेमै फर्किएर वाग्मती प्रदेशको सांसद हुँदै मन्त्रीसमेत बने ।

    प्रदेश सरकारको मन्त्री हुँदा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषद्मा विवाद गरेपछि उनी बर्खास्तीमा परेका थिए । २०७९ सालको स्थानीय चुनावमा एमालेले स्थापितलाई काठमाडौंमा महानगरपालिको मेयरको उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह मेयरमा निर्वाचित हुँदा स्थापित तेस्रो स्थानमा रहे ।

    प्रमोदनारायण यादव माओवादीबाट एमालेमा आएका नेता हुन् । सिरहाका पुराना माओवादी नेता सूर्यनाथराम यादवका छोरा प्रमोदलाई एमालेले केन्द्रीय सदस्य बनाएको थियो ।

     

    प्रतिकृया दिनुहोस्