News Portal

  • ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग बयान लिने सिआइबीको तयारी

    जनगर्जन संवाददाता
    १२४ पटक

     

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ।

    नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच यस विषयमा छलफल भएको हो। ‘ललिता निवासको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय र तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीहरूसँग बयान लिने विषयमा माथिल्लो तहमा छलफल चलिरहेको छ’, सिआइबी स्रोतले बताएको छ ।

    गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको छ।

    किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले ललिता निवास जग्गा प्रकरणमा चार सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन्। सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धानको दायरामा ल्याउन लागिएका पूर्वप्रधानमन्त्री नेपाल अहिले देशबाहिर छन्। उनले आफू देशबाहिर भए पनि अनुसन्धानमा सघाउने र आवश्यक परे तुरुन्तै फर्कने बताएका छन्। नेपालले यस मामिलामा आफूले केही नबिराएको दाबी गर्दै आएका छन्।

    उनले युरोप भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफू नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले तयार पारेको गुरुयोजनालाई अघि बढाएको बताएका थिए।

    नेपालको सचिवालयले पनि सर्वोच्च अदालको आदेशबारे जानकारी भएको र नेता नेपालले अनुसन्धानमा सघाउने जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

     

    प्रतिकृया दिनुहोस्