


पुस, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् । ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाए सरकार बनाउने बेलामा हामीले छलफल चलाउँदा दुई दिनसम्म प्रचण्ड आउनु नै भएन’ उपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘पछि थाहा पाउँदा त उहाँ कांग्रेस र साना दलहरुसँग सरकार बनाउने बारेमा छलफल चलाइसक्नुभएको रहेछ ।
चुनावमा तत्कालिन नेकपा एमाले र नेकपा माओेवादी केन्द्र मिलेर बहुमत ल्याएपछि सरकार बनाउने फाइदा प्रचण्डले लिने खोजेको पोखरेलले बताए । त्यतिबेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टको मोर्चा टुटन नदिन प्रचण्डसँग सत्ता साझेदारीको सहमति गरेको उनको संकेत थियो । ‘कम्युनिष्टकै सरकार बनाउन ओलीज्यूले प्रचण्डले जे–जे भने ती सबैको हस्ताक्षर गरेर सरकार बनाउनुभयो’ पोखरेलले भने ।
प्रचण्डकै कारण पनि नेकपा दुई तिहाई मत ल्याउनबाट चुकेको उनले आरोप लगाए । पार्टी एकता भएको २४ घण्टा बित्न नपाउँदै प्रचण्डले सूर्य चिह्नबाट चुनाव नलड्ने बताएको र त्यसकै परिणाम नेकपाले दुई तिहाई मत नल्याएको उनको जिकिर छ ।‘प्रचण्डले एकीकृत चिह्न सूर्य नमान्दा एमालेले ३३ लाखभन्दा बढी मत ल्यायो । माओवादीले १३ लाख मत ल्यायो’ उनले भने, ‘१० लाख मत रद्द भयो । त्यसकारण नेकपा दुई तिहाइबाट चुक्यो ।’
नेता पोखरेलल पार्टीमा बिग्रहको कुरा शुरु भइसकेको बताउँदै अहिले पार्टी औपचारिक रुपमा दुई टुक्रा नभएपनि गतिविधिले एउटै नरहेको बताए । ‘यस्तो अवस्थामा पनि हामी एकताकै पक्षमा उभिएका छौं’ उनले भने, ‘एकताविरुद्व जाने जोकोहीलाई पनि मुर्दावाद भन्दै एकताबद्ध भएर अघि बढ्ने हाम्रो योजना छ ।’
