News Portal

  • सुनसरीमा गोली हानेर एक युवकको हत्या ।

    जनगर्जन संवाददाता
    ७७ पटक

    शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका-२० स्थित धरान-इटहरी सडकखण्डमा गोली हानेर एक जना पुरूषको हत्या भएको हो।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार विराटनगरका बासिन्दा २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

    एसपी ढकालका अनुसार मृतक चौधरी र अर्का एक जना महिला साथी उक्त सडकखण्डमा पानी खाएर बसिरहेको बेलामा अपरिचित तीन जना व्यक्तिहरू आएका थिए। पुरूषको उक्त समूहमध्येका एक जनाले चौधरीमाथि गोली प्रहार गरेका थिए।

    चौधरीको दाहिने कुममा गोली लागेको थियो। महिला भने सकुशल रहेको एसपी ढकालले बताए।

    गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान प्रहरीले गरिसकेको छ। उनीहरूको खोजी गर्न प्रहरी टोली खटिइसकेको पनि उनले जानकारी दिए।

    ‘उनीहरू तत्काल जंगलमा भागे। हामीले उनीहरूको हुलिया पहिचान गरिसकेका छौं। प्राविधिक र फिल्डमा खटिने टिम बनाएर अनुसन्धान थालिसक्यौं,’ एसपी ढकालले भने, ‘हामी छिट्टै पक्राउ गर्छौं।’

    हत्या गर्ने समूहका व्यक्तिहरूले कुनै सवारीसाधन प्रयोग गरेको पनि नदेखिएको उनले बताए।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्