News Portal

  • ६२ वर्षपछि यसरी रंगियो चाँगुनारायण मन्दिर

    जनगर्जन संवाददाता
    २०३ पटक

    भक्तपुर । विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । चाँगुनारायण मन्दिर विकास समितिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर (पुरातत्व विभाग) को अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रंगरोगन थालेको हो । मन्दिरमा रंगरोगनको काम अन्तिम चरणमा पुगेको र जेठ मसान्तभित्र सम्पन्न हुने समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।

    राजोपाध्यायकाअनुसार २०१८ सालमा राजा महेन्द्रको पालामा चाँगुनारायण मन्दिरको रंगरोगन गरिएको थियो । ‘त्यो बेला (२०१८ साल) मा लगाइएको रंग अझै छ तर पटक–पटकको मन्दिर मर्मत तथा जीर्णोद्धार, परेवाले गर्ने फोहोर, घामपानीका कारण मेटिँदै गएको छ,’ उनले भने, ‘प्राकृतिक रंगको प्रयोग गरेका छौं, कुनै रासायनिक इनामेल लगाएको छैन ।
    ’ पशुपतिनाथ, स्वयम्भू, जय बागेश्वरी लगायत मन्दिरहरुमा रंग भरेका कलाकार राजेन्द्र चित्रकारको नेतृत्वमा प्राकृतिक रंग लगाएको समितिले जनाएको छ । मन्दिर रंगरोगनका लागि समितिले ४४ लाख रुपैयाँ खर्चको लागत अनुमान गरेको छ । हालसम्म भक्तजनको सहयोगमा रंगरोगनको काम भइरहेको छ । रंगरोगनका लागि भक्तजनबाट करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको मूल पुजारी राजोपाध्यायले जानकारी दिए ।


    ‘गत आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले चाँगुनारायण मन्दिरको रंगरोगनका लागि २५ लाख रुपैयाँ विनियोजन भएको थियो, ८ दिनभित्र काम सक्ने निर्देशनसहित बजेट निकासा हुने भएपछि समितिले अस्वीकार गर्‍यो,’ उनले भने, ‘उक्त बजेट फिर्ता गयो र चालु आर्थिक वर्ष ०७९/८० मा वाग्मती प्रदेश सरकारबाट १० लाख ८५ हजार ३२० रुपैयाँ मन्दिर रंगरोगनको लागि प्राप्त भएको छ ।’राजोपाध्यायका अनुसार मन्दिर रंगरोगनका लागि भक्तजनमार्फत करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चाँगुनारायण नगरपालिकाले मन्दिर रंगरोगनका लागि बजेट छुट्याएको बताए पनि हालसम्म प्राप्त नभएको समितिले जनाएको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुर र चाँगुनारायण नगरपालिकाको प्रतिनिधिको रोहबरमा रंगरोगन भइरहेको समेत जनाएको छ ।‘नयाँ रंगरोगन भएपछि ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको काष्ठकलाको सुरक्षित हुनेछ,’ मन्दिरका मूल पुजारी राजोपाध्यायले भने । रंगरोगनका लागि चाँगुनारायण नगरपालिकाले बजेट निकासा गर्ने निर्णय गरे पनि उपलब्ध नभएपछि समितिले भक्तजनलाई सहयोगको आह्वान गरेको र सहयोगी हातहरु जुटिरहेको जनाएको छ ।

     

    मन्दिरको चारैतिर विभिन्न देवीदेवताका कलात्मक काष्ठकलाका मूर्तिहरु छन् । मन्दिरमा काठ, इँटा र प्रस्तर (ढुंगा) र धातुको प्रयोग गरी बनाइएको छ । मौलिक प्यागोडा शैलीमा निर्मित चाँगुनारायण मन्दिर मध्यकालमा राजाशिव सिंहकी रानी गंगारानी र १८ औं शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णोद्धार भएको थियो ।त्यस्तै, २०६६ सालमा गाहरो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भइ जीर्णोद्धार भइसकेको छ । भूकम्पको कारण क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माणको काम भइरहेको छ । चाँगुनारायण मन्दिरको लिच्छविकालीन राजा हरिदत्त वर्माले इशापूर्व ३२३ माबनाएको प्राचीन पुरातात्विक शिलास्तम्भ सहितको प्यागोडा शैलीको मन्दिर हो । उपत्यकाकै प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिने चाँगुनारायण मन्दिरलाई सन् १९६९ मायुनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने विदेशी पर्यटक प्रवेश शुल्क बापत नगरपालिकाले वार्षिक करिब साढे तीन करोड रुपैयाँ असुल्दै आएको छ भने मन्दिर संरक्षणको लागि भने खासै चासो देखाएको पाइएको छैन ।

     

     

    प्रतिकृया दिनुहोस्