News Portal

  • इमेज सहकारी संस्थापक ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन, छोरा बैंकिङ कसुरको फरार सुचिमा

    जनगर्जन संवाददाता
    १३८ पटक

    विष्णु विश्वकर्मा,बागलुङ । सर्वसाधारणको अर्बाैं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक देवकुमार नेपालीले सर्वसाधरणको रकम फिर्ता गर्न नसकेपछि शुक्रबारदेखि सम्पर्कविहिन भएका छन्। नेपाली बागलुङ ढोरपाटन नगरपालिकाका मेयर हुन्।

    इमेज सहकारीमा ८ सय बढी सेयर सदस्यको झन्डै १ अर्ब बढी बचत थियो। त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत घरजग्गा खरिद गरेका थिए।

    ती घरजग्गाबाट पनि मेयर नेपालीले प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट मेगा बैंक र गरिमा बैंकबाट झन्डै ५० करोड रुपैयाँबराबर कर्जा लिएका छन्। इमेज सहकारीका नाममा पनि ३५ करोडको कर्जा लिएको कर्जा सूचना केन्द्रको तथ्यांकमा देखिन्छ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक देवकुमार नेपाली सम्पर्कविहीन भएको र फरार भएको भन्दै प्रशासनमा निवेदन परेको जानकारी दिइन्।

    त्यस्तै नेपाली आफैंले पनि ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा पनि ‘आफू उपचारका लागि बाहिर जानुपर्ने भएकाले धनजनको सुरक्षा गरिपाउँ’ भन्ने निवेदन दिएको सिडिओ श्रेष्ठले बताइन्।

    मेयर नेपालीका छोरा सन्तोष नेपालीले डेढ करोड रकम तिर्न नसकेपछि थापा मोटर्स प्रालि पोखराले केही महिनाअघि ‘चेक बाउन्स’ मा निवेदन दिएको थियो। निवेदनपछि बैंकले सन्तोष नेपालीलाई कालोसूचीमा राखेको छ भने उनी पनि फरार छन्। चेक बाउन्सलाई पछिल्लोपटक बैकिङ कसुरका रूपमा लिने गरिन्छ।

    इमेज सहकारी गत महिना समस्याग्रस्त भएपछि संस्थापक अध्यक्ष देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए।

    तर, उनका सबै सम्पत्ति बैंकमा धितोका रूपमा छन्। रकम फिर्ता माग्न जानेलाई उनले मूल्यांकनभन्दा बढी रकम भनेर घर तथा जग्गा लिन अनुरोध गर्दै आइरहेका थिए।

    प्रतिकृया दिनुहोस्