News Portal

  • टोप बहादुर रायमाझीलाई आज अदालत लगिने

    जनगर्जन संवाददाता
    ६८ पटक

    काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ।

    प्रहरीको विशेष टोलीले उनलाई आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

    पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ।

    आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए।

    पक्राउपछि आइतबार राति नै उनको स्वास्थ्य परीक्षण गराइएको एसपी रिजालले जानकारी दिए।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। त्यतिबेला उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा थिए।

    आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई काठमाडौं आउने जानकारी गराएर रायमाझी सम्पर्कविहीन भएका थिए। उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

    रायमाझी सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई फरारको सूचीमा राखेर खोजी गरेको थियो। उनी भारत भागेको अनुमान पनि गरिएको थियो। तर, पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी काठमाडौंबाटै पक्राउ परेका छन्।

    रायमाझीलाई गृहजिल्लाकै एक कार्यकर्ताले काठमाडौंमा सेल्टर दिएर राखेको रायमाझीले बताए। अन्य कुरा थप अनुसन्धानपछि खुल्ने उनले बताए।

    प्रतिकृया दिनुहोस्