


१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।
प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।
यस्तो छ आन्दोलनका कार्यक्रम हरु
- पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
- पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
- २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
- २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
- ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
- १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
- २२ माघमा वडा तहमा मसाल जुलुस ।
- २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।
