News Portal

  • ललितपुर महानगरले किन रोक्यो सेन्ट जेभियर्समा विद्यार्थी भर्ना

    जनगर्जन संवाददाता
    ८८ पटक

    १६ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले सेन्ट जेभियर्स स्कुल, जाउलाखेलको नयाँ विद्यार्थी भर्ना प्रक्रिया रोकेको छ । स्कुलले संवैधानिक र कानुनी आधारमा भर्नाका लागि कोटा तोक्नुपर्ने भन्दै महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको हो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल सेन्ट जेभियर्सका कर्मचारी र जेसिट सोसाइटीका व्यक्तिका परिवारका विद्यार्थीको भर्ना गरेर बाँकी रहेको संख्यामा कोटा तोकेर ‘लट्री’ गर्ने गरिएकाले त्यसलाई रोक्नु परेको बताउँछन् ।

    नेपाल जेसिट सोसाइटी अन्तर्गत चलिरहेका शैक्षिक संस्थामा कार्यरत व्यक्ति र परिवारलाई बढी मौका दिने र सार्वसाधारण नागरिकका बालबच्चाले थोरै कोटा पाउने अवस्था हटाएर न्यायपूर्ण विधि अपनाउन स्कुललाई भनिएको अर्यालले बताए । सेन्ट जेभियर्समा बालबच्चा भर्ना गर्दा न्यायपूर्ण अवस्था बनाउनका लागि तत्कालका लागि भर्ना प्रक्रिया रोक्न पत्राचार भएको उनको दाबी छ ।

    सेन्ट जेभियर्सले पूर्वविद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा तोकेको छ । यसबाहेकका बचेका सिटमा मात्रै खुला ‘लट्री’ गरेर भर्ना लिने गरिएको प्रशासकीय अधिकृत अर्यालले बताए ।

    ‘हामीले संविधान र कानुनले निर्दिष्ट गरेको आरक्षण कोटाअनुसार भर्नाका लागि कोटा छुट्याउन भनेका छौं, अहिलेको कोटा न्यायपूर्ण छैन’ अर्याल भन्छन्, ‘परीक्षाका आधारमा विद्यार्थी छान्ने विधि त ३ वर्षअघि नै शिक्षा मन्त्रालयले रोकेपछि लट्री हुन थालेको थियो ।’

    सेन्ट जेभियर्सको अहिलेको भर्नाका लागि विद्यार्थी छनोटको विधिले धेरै सर्वसाधारणका बालबच्चाले कम अवसर पाउने भएकाले कानुनी आरक्षणअनुसार कोटा दिएर बाँकी खुला कोटाबाट लट्री गर्न आग्रह गरिएको प्रकाशकीय अधिकृत अर्यालको दाबी छ ।

    प्रतिकृया दिनुहोस्