News Portal

  • राष्ट्रपति भण्डारी द्वारा बागलुङ कालिका मन्दिरमा पुजाअर्चना

    जनगर्जन संवाददाता
    १२० पटक

    फाल्गुन १०, २०७९ विष्णु विश्वकर्मा
    बागलुङ — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बागलुङ भगवती मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेकी छन् । गन्तव्य कालिका अभियान चलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिले राष्ट्रपतिलाई मन्दिरमा स्वागत गरेको हो ।
    जिल्लामा आउने उच्च पदस्थलाई स्वागत गर्ने गुठीको पुरानो चलन छ । यसअघि पनि तत्कालीन राजारानी, पूर्वराष्ट्रपति र उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका मन्त्रिगण समेतलाई नियमित स्वागत गर्दै आएको अध्यक्ष खड्काले बताए । हेलिकोप्टरमा आएकी भण्डारी यहाँको बाङ्गेचउर खेल मैदानमा अवतरणपछि गाडी चढेर कालिका मन्दिर पुगेकी थिइन् ।
    राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना पनि राष्ट्रपति भण्डारीको साथमा थिए । उनले आफ्नो कार्यकालमा पहिलो पटक बागलुङ कालिका मन्दिरको दर्शन गरेकी हुन् ।

    राष्ट्रपतिको स्वागतका लागि पञ्चकन्या, गुठी व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयको भीड थियो । गण्डकी प्रदेश सभाकी उपसभामुख बिना थापासहित जिल्लाबाट प्रतिनिधित्व गर्ने सबैजसो सांसद पनि सहभागी थिए । जिल्ला समन्वय समितिका संयोजक अमर थापा, बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठसहित सुरक्षाका उच्च पदस्थ अधिकारी पनि मन्दिरमा पुगेका थिए ।

    राष्ट्रपतिले पूजा गरेपछि मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेर पर्वतको जलजला गाउँपालिकामा आयोजित कुलमन्दिर उद्घाटन कार्यक्रममा पुगेकी छन् । राष्ट्रपति आउने कार्यक्रमले एक घण्टा सवारी आवागमन रोकिएको थियो । यहाँ आयोजित ५ औं राष्ट्रपति खेलकुद प्रतियोगिताको फाइनल खेल पनि मंगलबार बेलुकीबाटै रोकेर हेलिप्याड बनाइएको थियो । खेल रोकिएपछि बुधबार दिउँसोबाट सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्