


१४ पुष भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साविक केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले आफ्नो कित्ता स्पष्ट गरेका छन् । पार्टी विभाजन हुँदै गर्दा मौन बसेका उनी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विपक्षमा उभिएका हुन् ।
पूर्वएमाले छँदै माधवकुमार नेपाल पक्षीय मिश्र विभाजित नेकपा (नेकपा) को प्रचण्ड नेपाल समूहमा खुलेका छन् । भक्तपुरमा मिश्रसँगै विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका महेश बस्नेत र दिलीपकुमार प्रजापति ३ जना केन्द्रीय सदस्य रहेका छन् । जसअनुसार केन्द्रीय सदस्य बस्नेत केपी ओली समूहको नेतृत्व गरिरहेका छन् । केन्द्रीय सदस्य प्रजापतिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मिश्र थपिएसँगै भक्तपुरमा प्रचण्ड–नेपाल समूहको पल्लाभारी हुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य प्रजापति नेकपा (नेकपा) भक्तपुरका इन्चार्ज र मिश्र सहइन्चार्जसमेत हुन् ।
सोमबार प्रचण्ड–नेपाल समूहमै रहेको भनी स्पष्ट गरेका केन्द्रीय सदस्य मिश्र भक्तपुरको चाँगुनारायण नपाका मेयरसमेत हुन् । त्यसैले पनि उनले आफ्नो कित्ता स्पष्ट गरेसँगै जिल्लामा दुवै समूहमा नखुलेका पूर्वएमालेका धेरै नेता कार्यकर्ताहरुले अब स्पष्ट बाटो तय गर्ने विश्वास गरिएको छ । उनी २०६३ सालदेखि २०६६ सालसम्म पूर्वएमालेको भक्तपुर जिल्ला सचिवसमेत रहिसकेका छन् । भक्तपुरमा प्रतिगमनविरोधी आन्दोलनको नेतृत्व उनैले गरेका थिए ।
करिब एक साता लामो मौनता तोड्दै केन्द्रीय सदस्य मिश्रले सोमबार आफ्नो फेसबुक एकाउन्टमा प्रधानमन्त्री ओलीले गरेको पौष ५ गते प्रतिनिधिसभा विघटनको घटना कुनै पनि दृष्टिकोणबाट जायज नभएको औंल्याए ।
‘पौष ५ गतेको प्रतिनिधिसभा विघटनको घटना कुनै पनि दृष्टिकोणबाट जायज होइन । यो निर्णयले सात दशकसम्म नेपाली जनताले गरेको अविश्रान्त संघर्षबाट प्राप्त जननिर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिष्ट आन्दोलन र त्यसप्रति विश्वास र भरोसा राखेर हिँडेका हजारौं लाखौं कार्यकर्ता÷जनताप्रति धोखा र विश्वासघात गरेको छ’, केन्द्रीय सदस्य मिश्रले लेखेका छन् ।
यस्तो भक्तपुरको अबस्था
प्रदेश सांसद आधाआधा
भक्तपुरबाट चुनिएका नेकपाका चार जना प्रदेश सांसदमध्ये पनि दुई समूहमा आधाआधा स्पष्ट भइसकेका छन् । प्रदेश सांसदहरु शशिजंग थापा र सरस्वती बाटीले ओली समूह छान्दा थप दुई प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।
प्रदेश सांसद श्रेष्ठद्वयले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरिसकेका छन् । वामदेव पक्षीय नेतृ सरस्वती बाटी ओली समूहले केन्द्रीय सदस्य दिनेबित्तिकै उतै लागेको बुझिएको छ ।
जिल्ला समितिमा दुवै समूहको बहुमत दावी
त्यस्तै साविक एमाले र माओवादी केन्द्रबीच पार्टी समायोजन हुँदा भक्तपुरमा एकसय ४५ जनाको जिल्ला समिति गठन गरिएको थियो । भागबन्डाको आधारमा गठन गरिएको जिल्ला समितिमा पूर्वएमालेका ८२ जना र पूर्वमाओवादीका ६३ जना सदस्य थिए । जुन समितिको अध्यक्षमा एमालेका बचन देउजा र सचिवमा माओवादीका देवीप्रसाद ढकाललाई छानिएको थियो ।
अहिले पार्टी विभाजित हुँदा जिल्ला अध्यक्ष देउजा ओली र सचिव ढकाल प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।जिल्ला इन्चार्ज प्रजापतिले एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ७७ जना भएको बताएका छन् ।जिल्ला अध्यक्ष देउजाले पनि एकसय ४५ सदस्यीय जिल्ला समितिमा आफूहरुको पक्षमा ८० जनासम्म पुग्ने बताउँदै आएका छन् ।
ओलीको पक्षमा २ मेयर र २ उपमेयर, प्रचण्ड–नेपाल पक्षमा एउटामात्रै मेयर
भक्तपुरका ३ जना मेयर र २ जना उपमेयरमध्ये केन्द्रीय सदस्य एवं चाँगुनारायण नपाका मेयर मिश्र प्रचण्ड–नेपाल पक्षमा खुल्दा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नपाका मेयर वासुदेव थापा र उपमेयर जूना बस्नेत तथा चाँगुनारायण नपाकी उपमेयर वीणा बाँस्तोला ओली समूहतर्फ लागेका छन् ।
