News Portal

  • कोही पनि कुण्ठित भएर बाँच्नु पर्ने छैन वैज्ञानिक समाजवादमा : माईला लामा

    जनगर्जन संवाददाता
    १७६ पटक

     

    तपाई जनयुद्ध, शान्ति प्रक्रिया, एकीकृत जनक्रान्ति हुँदै यहाँसम्म आउदा क्रान्तिकारी आन्दोलन र योसंग जोडिएका अनुभूतिहरुलाई संक्षेपमा कसरी व्यक्त गर्नु हुन्छ ?

    आज जुन प्रकारको संकट राष्ट्र र जनताको जीवनमा मडारीराखेका छ, त्यसलाई अन्त्य गर्ने सपनासहित अगाडि बढ्न पाउँदा मूलतः गौरबको अनुभूति नै हुन्छ । तर धोका धडी र विश्वाशघातका अकल्पनिय, अनपेक्षित र अस्वभाविक व्यवहार र घटनाहरु जसरी नेतृत्व तहबाटै हुन गयो । त्यो देख्दा चिन्ता, घृणा र यतिसम्म कि आक्रोशको पारो पनि बढेर आउँछ । यी दुवै अनुभूति र भोगाई सहित नेपाल कम्युनिष्ट आन्दोलनको यात्रा अगाडि बढिरहेको छ जस्तो लाग्छ ।

    तपाईले नेतृत्वको विचलन र जनयुद्धको सन्दर्भ कोटट्याउनु भयो ,तपाई आफै जनयुद्ध, शान्ति प्रक्रिया र एकीकृत जनक्रान्तिको अविराम यात्री हुनुहुन्छ । यी अनुभूतिहरुलाई विगत र वर्तमानमा आधारित भएर कसरी सम्झिनु हुन्छ ?

    अहिले नेपालको क्रान्तिकारी आन्दोलन सापेक्ष रुपमा रक्षात्मक छ त्यो सत्य हो । तर पनि यो क्रान्तिकारी आन्दोलन नै गौरव गर्न लायक, अनुशरणीय र यसकै पक्ष माथि देखिन्छ । जनयुद्ध जसरी संसदीय पूँजीवादी व्यवस्थाको अन्त्य गर्दै नौलो जनवाद र समाजवादमा जाने जुन सपना थियो, त्यो उभार र विजयको सन्निकट पनि थियो । तर त्यो लामो समय त्यहि अवस्थामा रहन सकेन । खासगरी नेतृत्वमा आएको वैचारिक स्खलनका कारणले जनयुद्ध पराजित भयो । त्यसले हामीलाई छिन्न भिन्न पनि बनायो । एउटा पंक्ति हिजोकै दलदलमा भाँसिन पुग्यो । व्यवस्थामा विलिन भयो । अर्को पंक्ति छ, जो अकर्मण्डताको शिकार भयो, न यता न उताको जीवन बाँची रहेको छ र अर्को पंक्ति पनि छ, जसलाई कमरेड विप्लवले नेतृत्व गर्नु भएको छ, यसले आशावादी र उज्यालो भविष्य बोकेर अगाडि बढिरहेको छ । यसैको भविष्य उज्यालो छ ।

    सरकारसंग ३ बुँदे सहमति गरिसके पछि एकथरी मानिसहरुले तपाईहरुले मालेमा र क्रान्ति तथा बल प्रयोग सम्बन्धी माक्र्सवादी दृष्टिकोण परित्याग गर्दै शान्तिपूर्ण राजनीति र संसदीय व्यवस्थामा प्रवेश गर्नु भो भनेर टिप्पणी गर्छन नि ?

    त्यो विश्लेषण जसले गर्नुहुन्छ, त्यो त उहाँहरुको अल्पज्ञान हो । विषयलाई विश्लेषण गरेर हेर्ने भन्दा मनोगत रुपमा निकालिने निष्कर्ष हो । तत्कालीन अवस्थामा सरकारसँग जुन ३ बुँदे भयो, जतिखेर म जेलमै थिए, त्यो सहमति हाम्रो पार्टीको निम्ती आवश्यक नै थियो । ओली सरकारका लागि त्यो बाध्यता पनि थियो । त्यसको अर्थ क्रान्ति र माक्र्सवादबाट पछाडि हड्यो तथा संसदवादमा गयो भनेर सोच्नु भनेको आफैमा माक्र्सवाद नबुझ्नु सरह नै हो । त्यो अज्ञानी तर्क हो । त्यसमा पूर्वाग्रह जटिल सोच पनि देख्न सकिन्छ । विचार, राजनीति, दर्शन र हामीले अघि सारेको कार्य दिशाको पाटो र हाम्रो लक्ष्यको दृष्टिले हेर्दा पनि हामी माथिको आरोप र मिथ्या विश्लेषण पुष्टि तल्लो स्तर र सतही विश्लेषणमा मानिसहरु नगरेकै राम्रो हुन्थ्यो लाग्छ ।

    तीन बुँदे सहमति गर्ने क्रममा शान्तिपूर्ण गतिविधि गर्ने भनेर गरिएको सहमतिलाई लिएर तपाईहरु पूँजीवादबाट समाजवादमा शान्तिपूर्ण संक्रमणको पूँजीवादी बाटो उन्मुख हुन खोजेको भनेर पनि भनिन्छ,यसलाई कसरी प्रष्ट्याउनु हुन्छ ?

    मानिसलाई भन्न त छुट छ, भन्नलाईत कसैले रोक्न सक्छ र ? शान्तीपूर्णको अर्थ विद्रोही र सरकारबीच जुन सम्झौता हुन्छ त्यसमा दुवै पक्षले कहिनकहि कम्प्रमाइज गरेका हुन्छन । कहि न कहि उनिहरुले सुझबुझका साथ कदमहरु चालेका हुन्छन र राजनीतिक प्रस्तावहरु अगाडि बढाएका हुन्छन । तपाईहरुले तीन बुँदेलाई हेर्नुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी, आन्दोलन र राष्ट्रियतालाई घाटा लाग्ने गरि त्यहाँ एक शब्द पनि छैन । जहाँसम्म शान्तिपूर्ण गतिविधि गर्छौ भनेर प्रयोग गरिएको शब्दलाई लिएर गरिएको टिका टिप्पणीहरु छन, ती गलत छन । त्यसैले शान्तिपूर्ण गतिविधि गर्छौ भन्नुको अर्थ क्रान्ति छोड्छौ भनेको होइन । वर्ग संघर्ष र मालेमावाद छोड्यौ भनेर तीन बुँदेमा कहाँ भनेको छ । तीन बुँदेमा भएका सवै विषयलाई एक ठाउँमा थन्क्याएर शान्तीपूर्ण भन्ने शब्दलाई मात्रै पक्रेर हामी माथि हमला गर्नु भनेको एक प्रकारको दुरागृह मात्रै हो । तर त्यहाँ एउटा संकेत के हो ? भने दुई पक्षबीच सहमति भएपछि विद्रोहीले आफ्ना गतिविधि शान्तीपूर्ण रुपमा गर्ने र राज्यले झुट्टा मुद्धा खारेज गर्ने, बन्दीहरु रिहा गर्ने र प्रतिवन्ध हटाउने कुरा हो । त्यो त दुवै पक्षको दायित्वको सवाल हो । तर एउटा विडम्वना नै भन्नु पर्छ राज्यले आफ्नो दायित्व प्रति इमान्दारिता देखाउन सकेन ।

    केही समय अघि महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला आदालतद्वारा पक्राउ पुर्जी जारी गरेर तपाईहरुमाथि दबाब बढाउन खोजेको देखियो । यसलाई आम सञ्चारमाध्यम र नागरिकहरुले कसरी बुझदा सही होला ?

    वास्तवमा यो घटना गम्भिर छ, भलै त्यो अदालतमार्फत व्यक्त भयो । यो भनेको सरकारको षड्यन्त्रकारी कदम हो । यसलाई हामीले अलि गम्भिरतापूर्वक नै लिएका छौ । यस प्रकारको षड्यन्त्रहरुको पर्दाफास गर्ने र प्रतिवाद गर्ने हिम्मत पनि पार्टीसँग छ । त्यो साहास पनि हामीले गरेका छौ । हामी त्यहाँबाट पछाडि हड्ने कुरा पनि छैन । हामीमाथि यसरी दबाब सिर्जना गर्नुका पछाडि दुई तीन वटा कारणहरु छन् । पहिलो त गएको स्थानीय निर्वाचनमा हाम्रो पार्टीले स्वतन्त्ररुपमा उम्मेदवारहरु खडा गरेपछि जनयुद्धका आधार क्षेत्रहरुमा नै प्रचण्डहरुले नराम्रोसँग पराजय भोग्नु पर्यो । उनिहरुले आफ्नो समिक्षामा समेत आफ्नो पराजयको कारण नै विप्लवको उम्मेदवारी दिने योजना र स्वतन्त्र उम्मेदवार हुन भन्ने निष्कर्ष निकाले । त्यो भएपछि प्रचण्डहरुले कही न कही जाल बुने आउँदो चुनावमा केहि गरि हाम्रो उम्मेदवारी भएमा प्रचण्डहरु बढारिन्छन भन्ने उनिहरुको अनुमान छ । नेकपालाई चुनावबाट अलग कसरी गर्ने भन्ने प्रचण्डको इन्टेस्टमा हामीमाथि दबाब बढाउने काम भैरहेको छ । दोस्रो कुरा, अहिले नेपाली काङग्रेस जो सरकारको नेतृत्वमा पनि छ । त्यस भित्रको एउटा हिस्साको सधैभरी विदेशीहरुको दलाली गर्दै आएको छ । भलै त्यसभित्र सच्चा लोकतन्त्रवादी र देशप्रेमी मान्छेहरु पनि छन् । काङ्ग्रेस इतिहासमा धेरै पटक देशद्रोही पार्टीको रुपमा रहेको छ । यसक्रममा जसरी हाम्रो पार्टी विद्यमान संसदीय व्यवस्था विरुद्ध एउटा वैकल्पिक शक्तिको रुपमा जसरी अगाडि आयो, यसले जनताको विशाल पंक्तिको मन जितेको छ । यद्यपि जनता अहिले हाम्रो पार्टी प्रति ढुक्क भैसके भन्ने होइन । तर हामी प्रतिको अपेक्षा र भरोसा बढ्दै गएको छ । यो कुरा देउवा सरकार र दलाल पूँजीवादी पार्टीहरुलाई ठुलो चुनौती हो । त्यसकारण अहिलेको राजनीतिक माहौल र जनताबाट हामीलाई कसरी हटाउने ? भन्ने नियत सहित उनिहरु आए । तेस्रो कुरा, अहिले जसरी एमसीसी एसपीपी अगाडि आयो, यस विरुद्ध हाम्रो पार्टी र अन्य छ ओटा क्रान्तिकारी पार्टीहरु सहित भैसकेपछि पनि हामी सशक्त ढंगले संघर्ष अगाडि बढाइरहेका छौ । यसमा आधारभूत रुपमा अमेरिकाले हामीलाई साँघुरो घेरामा सीमित नगरी नेपाल एमसीसी एसपीपी लागू गर्न सकिन्न भन्ने कुरा बुझ्यो । नेपाल मार्फत चीन घेरा हाल्ने वा दक्षिण एशियामा आफ्नो बलियो उपस्थिति सहित अगाडि बढ्ने सोच सहित जो अमेरिका अगाडि बढेको छ यो कदममा अवरोध हुन्छ भन्ने भएपछि अमेरिकी योजनामा समेत हाम्रा विरुद्ध पक्राउ पुर्जी जारी गर्ने षड्यन्त्र रचियो ।

    तपाईले आफूहरु माथिको दबाब बढाउने काममा अमेरिकीहरु समेत संलग्न भएको भन्नु भयो । पछिल्लो पटक पार्टीका दस्तावेजहरुमा अहिलेको विश्व शक्ति सन्तुलन एक धुव्रीयबाट बहुधुव्रीय हुँदै गएको व्याख्या पनि गरेको पाइयो । खासमा आजको समाजवादी क्रान्ति र विश्व परिस्थितिको अन्तरसम्बन्धलाई कसरी हेर्नु हुन्छ ?

    हामीले हाम्रो २०७३ सालमा भएको आठौं महाधिवेशनबाट नै विश्व शक्ति सन्तुलन र बहुधुव्रीय विश्वबारे जे विश्लेषण गरेका थियौ, त्यो सहि सावित भएको छ । अहिले एक धुव्रीय विश्व भङ्गभएर दुई धुव्रीय वा वहुधुव्रीय विश्वमा विश्व शक्ति सन्तुलनमा गएको छ । यसको अर्थ के हो ? भने केहि समय अघि जसरी अमेरिकाको विश्वमा एकछत्र वर्चश्व थियो, उसले आफ्नो विरोधीहरुलाई जसरी ध्वँस गर्ने अभियान चलाएको थियो, त्यो अब त्यति सजिलो र सम्भव छैन भन्ने हो । सिरिया, युक्रेन र पछिल्लो ताइवान हुँदै अन्य घटनाक्रममा त्यसलाई हेर्यौ भन्ने त्यो कुरा प्रमाणीत हुन्छ । हाम्रो अनुकूल बन्दै गएको छ । तर यसको अर्थ परिपक्क नै भै सक्यो भन्नु हतारो हुन्छ । अनुकूल हुँदै गएको परिस्थितिलाई क्रान्तिको हितमा प्रयोग गर्न सक्ने कुशलता पार्टीले प्रदर्शन गर्न सक्नु पर्दछ ।

    केही महिना अघि पार्टीले लिएको लाइनलाई संसदीय संशोधनवादी र पार्टीले संश्लेषण गरेको दार्शानिक मान्यतालाई निषेधात्मक अधिभूत भन्दै कञ्चन र सुदर्शनले विद्रोह गरेको दाबी गर्दै अलग पार्टी निर्माण गर्नु भयो । यो घटना के थियो ? यसलाई आम जनता र कार्यकर्ताबीच कसरी प्रस्ट्याउनु हुन्छ ?

    जुन अभिव्यक्ति र विश्लेषण गर्दै उहाँहरुले विभाजनको बाटो लिनु भो, त्यो अनपेक्षित नै थियो । नेपालका परिवर्तनकामी जनताका लागि समेत त्यो पीडादायी घटना नै थियो । उहाँहरुले जुन विश्लेषण र निप्कर्ष निकाल्दै कदम चाल्नु भयो त्यो हाँस्यास्पद नै छ । किन कि एक डेढ महिना अघि त्यहि कमरेड, त्यही नेता महान क्रान्तिकारी, नयाँ विचार र दर्शन आविष्कार गरेको देख्ने, अनि एक डेढ महिना पनि नपुग्दै त्यो सवै उल्टिएर अर्को हुने भनेको त्यो मिठो र राम्रो कुरा होइन । र उहाँहरुले गर्नु भएका टिप्पणीहरुलाई प्रमाणीत गर्ने कुनै आधार पनि छैनन । तपाई कसैमाथि आलोचना गर्दै आरोपको भूमरी खडा गर्न सक्नु हुन्छ तर त्यसैलाई तथ्यहरुबाट प्रमाणीत गर्दै सत्य सावित गर्न जरुरी हुन्छ । कुनै विषय सहि छन वा गलत भन्ने कुरा भोली इतिहासको कठघेरामा उभिएर जवाफ दिनु पर्दैन र ? यी सवै कुराहरुमा साँचो, निष्कर्ष निकाल्नु, कदम चाल्नु सहि हुन्छ ।

    नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नवौ महाधिवेशन आगामी असोज २५ देखि ३१ गते सम्म गर्ने निर्णय गरेको छ । यो महाधिवेशनका बहस र छलफलका मुख्य एजेण्डाहरु के के होलान ?

    वास्तवमा कम्युनिष्ट पार्टीका महाधिवेशनहरु विचारधारात्मक संश्लेषण र केन्द्रिकरणको उद्देश्य सहित नै हुन्छन् हाम्रो नवौ महाधिवेशनमा पनि त्यसैको केन्द्र वरीपरी रहेर हुँदैछ । महाधिवेशनले केहि नयाँ नीतिहरु स्थापित पनि गर्नु पर्ने हुन्छ ।
    हामीले पार्टीको ८ औ महाधिवेशनबाट अघि सारेको र पास गरेको एकीकृत जनक्रान्तिको कर्यादिशा छ यो नेपालको मात्रै नभएर विश्वकम्युनिष्ट आन्दोलनकै इतिहास नयाँ अन्वेषण हो । यो कार्यदिशाको आधारमानै विश्व र नेपालका क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । हामीले अगाडि सारेको कार्यदिशाका केहि विशेषता र आधारहरु छन तीनलाई थप समृद्ध बनाउने र निखार्ने हाम्रो उद्देश्य छ । वितेका ८ / १० वर्ष यता हामीले हासिल गरेका अनुभूति र भोगाईहरुलाई संश्लेषण गर्नेछौ । दोस्रो हाम्रो कार्यभार भनेको महाधिवेशनमा हामीले केही सांगठनिक, आर्थिक, राजनीतिक र सांस्कृतिक प्रस्तावहरु पनि अगाडि सारेका छौ । तीनलाई थप समृद्ध गर्नु पर्ने छ ।
    तेस्रो कुरा वैचारिक , दार्शनिक हिसावले हामी डेढ सय वर्षभन्दा यता आइसक्यौ । आजको विश्व माक्र्स लेनिन र माओले व्याख्या गरेको ठाउँमा मात्रै छैन । वर्ग संघर्षको क्षेत्रमा पनि माक्र्स एंगेल्सको समय भन्दा नयाँ रुपहरु देखा परेका छन् । विज्ञान प्रविधि, सूचना सञ्चार र उत्पादक शक्ति एंव सम्बन्धहरुमा थप विकासहरु भएका छन् । यस प्रकारको वस्तुगत संसारमा भैरहेको विकासले पनि विचार र दर्शनमा नयाँ संश्लेषणको माग गरेको छ । यसैले महाधिवेशनमा दर्शन, अर्थशास्त्र र राजनीतिक लाइनको बारेमा पनि थप र व्यवस्थित ढंगले वहस गर्नुपर्ने छ । चौथो कुरा पार्टी कमिटीहरुमा केन्द्रिय कमिटी देखि सेल कमिटी सम्म चुस्त दुरुस्त, व्यवस्थित र बस्तुवादी बनाउनु पर्ने छ ।
    पाँचौ कुरा महाधिवेशनलाई हामी कम्युनिष्टहरुको मात्रै विषय होइन, सच्चा देशभक्त र सच्चा लोकतन्त्रवादी एवं देशप्रेमीहरुको भावना र मुद्धाको वहसको केन्द्र हुने छ । हामीले जुन मुद्धाहरु उठाइरहेका छौ, ती विषयहरुलाई नेपाल कम्युनिष्ट पार्टीका मात्रै मामलाहरु होइनन । यी विषयहरु आम जनता र देशका मुद्धाहरु पनि हुन ।

    नेपालको कम्युनिष्ट आन्दोलनमा विगत ७ दशक देखी भनिदै आएको नौलो जनवादको कार्यक्रमको ठाउँमा तपाइहरुले वैज्ञानिक समाजवादी कार्यक्रमको कुरा गर्नु हुन्छ, यो बारेमा जनताले अझै नबुझेको जस्तो लाग्छ । तपाईहरुले भन्न खोजेको वैज्ञानिक समाजवाद के हो ? यसबारे थप प्रस्ट्याउनु होस न ।

    नौलो जनवाद भनेको अर्ध–सामन्ती र अर्धऔपनिवेशिक देशमा राष्ट्रिय पूँजीवादी क्रान्ति सम्पन्न गर्न खासगरी तेस्रो विश्वका देशहरुका लागि माओत्सेतुङले अघि सार्नु भएको राजनीतिक कार्यक्रम हो । नेपालको आजको अर्थराजनीतिक विश्लेषण गरेर हेर्दा सामन्तवादको केन्द्र अवसान भैसकेको छ । यद्यपि सामन्तवादका केहि अवशेषहरु वाँकी छन् । यहाँ त दलाल पूँजीवादी व्यवस्था छ । राष्ट्रिय पूँजीवादी व्यवस्था पनि छैन । त्यसैले दलाल पूँजीवादीको अन्त्य गरेर बैज्ञानिक समाजवादमा जान सकिन्छ । किन कि समाजवाद अघि आउने व्यवस्था पूँजीवाद हो । त्यो त यहाँ छ । समाजवादमा जानुअघि नौलो जनवादको उपचरणमा जानै पर्छ भन्ने छैन । नेपालमा लामो समय सम्म नौलो जनवादकै बारेमा बहसहरु भए र मानिसहरु यसैमा अभ्यस्त भएको जस्तो देखिए पनि अब समाजवादको प्रारुप कै बारेमा बहस हुन जरुरी छ ।
    देशमा विद्यमान दलाल पूँजीवादको अन्त्य गरेर अब स्थापित हुने व्यवस्था नै बैज्ञानिक समाजवाद हो जहाँ देश स्वाधीन र स्वतन्त्र हुने छ । आफूलाई आवश्यक पर्ने नीतिहरु आफै तर्जुमा गर्न सक्ने छ । जहाँ राज्यले नागरिकका सम्पूर्ण अधिकार शुनिश्चित गर्ने छ । उनिहरु प्रफुल्ल हुनेछन र आफ्नो प्रतिभा र क्षमतालाई खुलस्त प्रदर्शन पनि गर्न पाउने छन । बैज्ञानिक समाजवादमा राष्ट्रिय पूँजीपति वर्ग देखि मजदुरसम्म कुण्ठित भएर बाँच्नु पर्ने छैन ।

    वैज्ञानिक समाजवादको लक्ष्य राखेर संघर्ष गरिरहेका पार्टीहरु बीच रणनैतिक मोर्चा निर्माण गर्दै पार्टी एकता गरेर मुलूकमा एउटा वैकल्पिक शक्तिको रुपमा तपाइहरु आउन खोजेको सुन्दा मानिसहरुमा आशा र भरोसाहरु थपिदै गएको देखिन्थ्यो । पछिल्लो पटक किरण जीहरु टाढिदै गएको जस्तो देखियो । के अब तपाईहरु एकताबद्ध हुने सम्भावना छ ?

    वास्तवमा यो कुरा हाम्रो पनि चाहाना हो र नेपाली जनताको पनि चाहाना हो । जनताको तहमा हेर्नु हुन्छ भने विभिन्न नारा, कार्यक्रम वा यो त्यो रुपमा कम्युनिष्टहरु अलग थलग होइन कि सबै कम्युनिष्ट पार्टी एक हुनु पर्छ भन्ने भावना देखिन्छ । त्यो कुरा आफूलाई तथाकथित दिग्गज भन्ने कम्युनिष्टहरुले बुझ्न सकेनन । रणनैतिक मोर्चामा हामी अहिले चार ओटा दलहरु छौ तर यो विस्तार हुँदै जानेछ । जब हामी देश, जनता र समाजवादको बारेमा सोच्छौ भने हामीले आफ्ना व्यक्तिगत र पार्टीगत सोचबाट माथि उठ्नै पर्छ । नेपालका सबै क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुनुपर्छ, यो जनताको माग हो । यो कुरा देशभक्तहरु र समयको पनि माग हो । हामीले क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै मुलूकको संकटको विकल्प दिन जिम्मेवारीपूर्ण ढंगले कदम चाल्ने छौ ।

    अन्तमा के भन्नु हुन्छ ?

    पार्टी र मेरा विचारहरु वाहिर लिने वातावरण दिएकोमा जनपत्रकार संगठन नेपालका साथीहरुलाई धन्यवाद छ ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सदस्य माईला लामा संगको कुराकानी !

    (स्रोत : जनपत्रकार डटकमबाट साभार

    प्रतिकृया दिनुहोस्