News Portal

  • निशान छापबाट चुच्चे नक्सा हटाइएको समाचार भाइरल बनेपछि ओलीको सचिवालयले मुख खाेल्याे

    जनगर्जन संवाददाता
    ११२६ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।

    सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो। कतिपय सञ्चारमाध्यमले समेत यसबारे समाचार बनाएका थिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमै यसबारे प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ प्रेस नोट जारी गर्दै शुभकामना सन्देशमा राखिएको निशान छापमा समेटिएको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    “नक्साको सानो आकार प्रयोग गर्दा त्यस्तो लाग्नु स्वाभाविक भए पनि त्यसलाई ठूलो आकारको नक्सामा प्रष्ट देख्न सकिन्छ”, थापाले प्रेस नोटमा उल्लेख गरेका छन्, “डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यनजिक पुग्न आग्रह गर्दछु।”

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका छ्न । सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् ।

    दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड-१९ को कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।

    अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको बताए । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उनले बताएका छन् ।

    जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’ पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उनले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्र भएको बताए । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरेको भन्दै उनले भने, ‘सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ ।’

    ‘निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ’ उनले अघि भनेका छन् । महामारी विरुद्धको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्न नहुने उनले बताए । साथै जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्