


काठमाडौँ, १३ पुस । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको छ ।१६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको छ ।
एक्काइस दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो । एक्काइस दिनभित्र पनि उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई मन्त्रालयले कानूनी रुपमा कारवाही गर्ने सहमति भएको छ ।
यसैगरी आजको वार्तामा उखुको अनुदान रकम र भुक्तानी गर्नुपर्ने रकम फरक परेकालगायत विभिन्न विषय तथा समस्या समाधानका लागि एक अध्ययन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयका प्रतिनिधि रहनेछन् ।
उक्त समितिले बक्यौता भुक्तानी हुनपर्ने रकमउपर उद्योगी र उखु किसानको दाबी फरक फरक भएको हुँदा यस सम्बन्धमा यथार्थ यकिन गरी भुक्तानीका सम्बन्धमा सुझाव पेस गर्ने बताइएको छ । त्यस्तै उखु किसानले नेपाल सरकारद्वारा निर्धारण गरिएको समर्थन मूल्य नपाएको गुनासो गरेकाले त्यस सम्बन्धमा पनि सत्य तथ्य यकिन गरी सुझाव पेस गर्नेछ ।
