News Portal

  • रामेछापमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

    जनगर्जन संवाददाता
    ३१० पटक

    काठमाडौं । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। खाडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो। बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।

    बस दुर्घटनामा परेर ९ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार १२ जनाको सनाखत भइसकेको र एक जनाको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। त्यसमध्ये चार जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेहरुमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया विपना तामाङ, मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विक रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

    धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। मृतक अर्को एक जनाको भने सनाखत हुन बाँकी छ।

    प्रहरीले बसका चालक दोलखाका प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो। उनले भने ‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको जस्तो देखिन्छ। हामीले हेर्दा पनि ब्रेक लागेको जस्तो देखिन्छ।’

    घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्