News Portal

  • आज कांग्रेसको बैठक बस्दै उम्मेदवार टुंगो लगाउदै

    जनगर्जन संवाददाता
    २५२ पटक

    ११ वैशाख, काठमाडौं   स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान फेरि बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका छन् । कांग्रेस महामन्त्री गगन थापाले आज उम्मेदवारहरुको टुंगो लाग्ने बताए । विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र एकमत छैन ।

    कोइराला र निधिले जिल्ला सभापति र नगर सभापति काठमाडौंमा हुँदा प्रकाशमानको माग सम्बोधन हुने तर मोरङमा नेता शेखर कोइराला पक्षको जिल्ला सभापति र नगर सभापति हुँदा कोइरालाको बोली किन सम्बोधन नहुने भन्ने भन्दै नागेशलाई नै टिकट दिनुपर्ने अडान राखेका छन् । तर कृष्णप्रसाद सिटौलाले पराजुलीलाई दोहोर्याउनुपर्ने भनेपछि एकमत हुन नसकेको कांग्रेसका एक नेताले बताए ।

    यसैगरी चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकाका उपमेयरको उम्मेदवारमा पनि कांग्रेस नेताहरुको एकमत छैन ।

    भरतपुरमा महानगर सभापति चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवाले चाहे पनि रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।

    पोखरामा रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा छन् तर देउवा सुरेन्द्र विजुक्छेको पक्षमा छन् । बिजुक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन् । ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ ।

    आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम भएकाले आन्तरिक विवाद मिलाएर उम्मेदवारहरु छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेसमा परेको छ ।

    प्रतिकृया दिनुहोस्