News Portal

  • ऐतिहासिक बाह्रौँ पूर्ण बैठक र मुख्य ५ विषय -विप्लव

    जनगर्जन संवाददाता
    १०२ पटक

     

    गत चैत ३ गतेदेखि १३ गतेसम्म हाम्रो जनप्रिय पार्टीको ऐतिहासिक बाह्रौँ पूर्ण बैठक सम्पन्न भयो । बैठकमा प्रवेश गरेदेखि पार्टीबारे अनेक तरङ्गहरू फैलिए । केही आजसम्मै चलेका छन् । तर बाह्रौँ पूर्ण बैठकले उच्चतम् जनवादको प्रयोग गर्दै ६ वटा विषयमा एकमतका साथ ऐतिहासिक निर्णयहरु लिन सफल भयो । ती निर्णयहरूबारे सङ्क्षिप्त चर्चा गर्नु आवश्यक देखिएको छ ।

    १) अन्तर्राष्ट्रिय विषयमा हाम्रो दृष्टिकोण

    भूमण्डलीकृत पुँजीवाद २१ औँ सदीको युक्रेन युद्धसँगै दुई वा बहुधु्रवमा विभाजित हुन पुगेको छ । हाम्रो पार्टीले ६ वर्षअगाडि विश्व अमेरिकी एक ध्रुवमा नरहेर बहुध्रुव वा दुई ध्रुवमा प्रवेश गर्ने र त्यसले वैज्ञानिक समाजवादी– साम्यवादी क्रान्तिमा अनुकूलता थप्ने भनेर गरेको विश्लेषण यतिबेला व्यवहारतः सही साबित भएको छ ।

    पुँजीवादी युद्धको चरित्र ध्वंसात्मक हुन्छ र त्यसबाट श्रमिक जनताले कुनै लाभ प्राप्त गर्न पाउँदैनन् । युद्धमा जो विजयी भए पनि विजयी देशको पुँजीवादी वर्गले नै स्वार्थ पूरा गर्दछ । यतिबेला चलेका पुँजीवादी युद्धको परिणाम पनि यही हुनु अनिवार्य छ ।

    जव पुँजीवादी युद्धले श्रमिक जनतालाई असन्तुष्ट बनाउँदै जान्छ तब जनता साम्यवादी क्रान्तितिर ढल्किन पुग्छन् । ढिलोचाँडो पुँजीवादी विध्वंसबाट मुक्त हुन श्रमिक जनताले साम्यवादी क्रान्तिको बाटो र लक्ष्य चुन्न पुग्छन् । बढी सम्भावना के छ भने यो शताब्दीमा पुँजीवादी विश्व साम्यवादी विश्वतिर अग्रसर बन्नेछ ।

    विश्व पुँजीवाद सङ्कटमा पर्दै जानु भनेको हाम्राजस्ता गरिब एवम् पछौटे देशहरूमा वैज्ञानिक समाजवादी क्रान्तिको अनुकूलता थपिँदै जाने हुन्छ । कुनै पनि शक्तिकेन्द्रले स्वेच्छाचारी प्रकारले एकल नियन्त्रण गर्ने परिस्थिति रहँदैन । देशभित्रका जनताको मत र शक्ति नै निर्णायक बन्न पुग्छ । यद्यपि क्रान्तिकारी शक्तिले उचित दृष्टि पुर्याउन नसक्ने हो भने हाम्राजस्ता देशमा महाशक्तिहरूले आफ्नो बल दाँज्ने, खेल मैदान बनाउने, स्वार्थ लाद्ने र देशभक्त एवम् परिवर्तनकारी शक्तिले ठूलो क्षति भोग्नुपर्ने चुनौंती आइपर्ने पनि त्यत्तिकै सम्भावना हुन्छ तर पनि मूल पक्ष भनेको समाजवादी–साम्यवादी क्रान्तिको अनुकूलता नै हो । यसरी भन्दा हाम्रो देशमा क्रान्तिको अनुकूलता पहिले भन्दा अरु मजबुत बनेको छ ।

    २) राष्ट्रिय स्थितिबारे हाम्रो बुझाइ

    हाम्रो देश राष्ट्रिय स्वाधीनताका दृष्टिले सर्वाधिक कठिनाइमा उभिएको छ । खासगरी एमसीसी सम्झौंतालाई दलाल पुँजीपति वर्गको संसद्ले पास गरिदिएपछि अमेरिकी साम्राज्यवादलाई नेपालमाथि नियन्त्रण गर्ने वैधानिक बाटो खुलेको छ । हाम्रो दृष्टिकोणअनुसार एमसीसी सम्झौता भनेको अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक नीति हो । यसबाट पसेर ऊ नेपाललाई दीर्घकालसम्म पकडमा राख्न चाहन्छ ।

    दोस्रो कुरा एमसीसी केवल राष्ट्रिय स्वाधीनताको मात्र मामिला नभएर जनताको जनवादी अधिकारमाथिको अतिक्रमण पनि हो । यसले केवल देशको भूभागमाथि मात्र होइन, जनताको राजनीतिक एवम् सत्ता सञ्चालनको अधिकारमाथि पनि प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले केन्द्रीय समितिले भनेको छ– एमसीसीविरुद्धको सङ्घर्ष भनेको राष्ट्रियता र जनवाद दुवैसँग जोडिएको सङ्घर्ष हो ।

    एमसीसीविरुद्धको सङ्घर्षमा जनताको शक्ति र भूमिका अग्रभागमा आएको छ । संसद् दलाल पुँजीपति वर्गको हतियारमा पतन भएर देश बेच्ने ठाउँमा पुगेपछि यसको औचित्य समाप्त भएको छ । संसद् जनताको प्रतिनिधित्व गर्ने नभएर जनताका विरुद्ध अपराध लाद्ने ठाउँमा पुगेपछि यसबाट देशमाथि पैदा भएको सङ्कटको समाधान केवल जनताले मात्र गर्न सक्छन् किनकि कुनै पनि कानुन र संस्थाभन्दा माथि कोही छ भने त्यो केवल जनताको शक्ति मात्र छ ।

    जनताको शक्ति यतिबेला दुई ठाउँमा बढी केन्द्रित छ । एउटा देशलाई माया गर्ने देशभक्त शक्ति छ भने अर्को प्रगतिशील एवम् क्रान्तिकारी कम्युनिस्ट शक्ति छ । यी दुवैलाई केन्द्रित गर्दा नै एमसीसीविरुद्धको सङ्घर्षलाई बढी सशक्त र सुदृढ बनाउन सकिन्छ । यो कार्य वैज्ञानिक समाजवादप्रति स्पष्ट भएको क्रान्तिकारी शक्ति नेपाल कम्युनिस्ट पार्टी र अन्य क्रान्तिकारी शक्तिहरूसहितको मोर्चाले मात्र गर्न सक्छ । यसो गर्दा नेपालमा विगत कुनै पनि समयको भन्दा क्रान्तिको पक्षमा अनुकूलता थपिएको वास्तविकता सहजै देख्न सकिन्छ । अर्थात् नेपालको राष्ट्रिय परिस्थितिबाट वैज्ञानिक समाजवादी क्रान्तिको सम्भावना विगतमा भन्दा सबैले बुझ्ने गरी अनुकूल बन्दै गएको छ ।

    ३) महाधिवेशन

    हाम्रो पार्टीले ऐतिहासिक नवौँ महाधिवेशन विधानले तोकेको अवधिभित्रै अर्थात् फागुन–चैतमा गर्ने निर्णय लिएको थियो । तर पुस–माघमा फैलिएको ओमिक्रोन भाइरसको व्यापक सङ्क्रमण, राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको सङ्घर्ष र संसदीय व्यवस्थाको स्थानीय चुनावका कारण यो समयमा महाधिवेशन गर्न सकिएन ।

    हाम्रो पार्टी पुनर्गठन भएदेखि आजसम्म पुग्दा जसरी वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष र वैचारिक सङ्घर्षमा नयाँ खोज एवम् संश्लेषणहरू गरेको छ आउँदो महाधिवेशनमा तिनलाई सुव्यवस्थित, सुदृढ र सुस्पष्ट गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरेका र पूरा गर्नुपर्ने जिम्मेवारीका बीचबाट कैयौँ दूरगामी महत्वका निर्णयहरू संश्लेषण गर्नु पर्नेछ । यसो गर्दा केन्द्रीय समिति आउँदो मङ्सिरभित्र नवौँ महाधिवेशन सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।

    ४) संसदीय व्यवस्थाको स्थानीय चुनावबारे हाम्रो नीति

    हामीले केन्द्रीय समितिमा स्पष्ट उल्लेख गरेका छौँ– सिद्धान्ततः संसदीय व्यवस्था श्रमिक जनताको व्यवस्था नभएर दलाल पुँजीपति वर्गको व्यवस्था हो । यसको मुख्य चरित्र भनेको दलाल पुँजीपति वर्गको लूट एवम् अधिनायकत्वलाई श्रमिक जनतामाथि लाद्ने र आफ्नो लूटको स्वर्गलाई सुरक्षित गर्ने हो । यो व्यवस्थाभित्र हुने चुनावहरू पनि यही व्यवस्थालाई रक्षा गर्ने साधन वा विधि मात्र हुन् । यसर्थ केन्द्रको होस् वा स्थानीय यसका चुनावबाट जनताको सत्ता निर्माण गर्न सकिँदैन र सम्भव रहँदैन । तर यहाँ यो पनि स्पष्ट हुनु पर्दछ– संसदीय व्यवस्थाको चुनाव मात्र उसको व्यवस्था बचाउने साधन होइन । यसका अनेकौँ साधन छन् जसमध्ये यो पनि एक हो ।

    क्रान्तिकारी कम्युनिस्टहरूले संसदीय व्यवस्थाका चुनावलाई कुनै रणनीतिक विषयका रूपमा नभएर कार्यनीतिक मामिलामा लिन्छन् जो सही छ । कार्यनीति भनेको देशको राजनीतिक परिस्थितिअनुरूप अस्थायी, क्षणिक, परिस्थितिजन्य एवम् तात्कालिक हुन्छ । तत्काल कस्तो कार्यनीति प्रयोग गर्दा सापेक्षित रूपले जनताका विरोधी शक्तिविरुद्ध लड्न सजिलो हुन्छ, प्रभावकारी एवम् फाइदाजनक हुन्छ सोहीअनुरूप गरिन्छ ।

    संसदीय चुनावको विषय आउँदा क्रान्तिकारीहरूले संसारभर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको ठोस वस्तुस्थितिअनुरूप उपयोग, बहिष्कार र सशस्त्र बहिष्कार गर्दै आएका छन् । यो प्रयोगमा जुन पार्टी र नेतृत्वहरू वास्तविक इमानदार र क्रान्तिकारी छन् ती जे गर्दा पनि सफल देखिएका छन् भने जो इमानदार, वस्तुवादी एवम् क्रान्तिकारी छैनन् ती जे गर्दा पनि जनताबाट अलग भएका छन् र असफल भएका छन् ।

    हाम्रो पार्टीले यसको निर्माण भएदेखि बहिष्कार गर्दै आएको छ । बहिष्कारहरू कुनै प्रभावकारी भएका छन् भने कुनै औपचारिक र देखावटीखालका मात्र भएका छन् । जस्तो कि गएका सङ्घ र स्थानीय चुनावहरूको बहिष्कार सशक्त र प्रभावकारी रहे भने उपचुनावहरू औपचारिक खालका मात्र भए । तथापि तिनको राजनीतिक सन्देश ठिकै रह्यो ।

    अहिले हाम्रो केन्द्रीय समितिले स्थानीय चुनावबारे लामो छलफल गरेर निष्कर्ष निकालेको छ– पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर एमसीसी र राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ ।’ यसो गर्दा हाम्रो मुख्य राजनीतिक कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादकै रहनेछ भने संसदीय व्यवस्थाको भन्डाफोर गरिनेछ ।

    हामीले स्थानीय चुनावबारे यस्तो कार्यनीति किन लियौँ ? किन बहिष्कार, सशस्त्र बहिष्कार वा पार्टी दर्ता गरेर उपयोग गर्ने नीति किन बनाएनौँ ? यसको स्पष्ट व्याख्या गर्दै दस्ताबेजमा भनिएको छ– साथै केन्द्रीय समितिमा व्यापक बहस गरिएको छ हामीले देशको वर्तमान राजनीतिक परिस्थितिअनुरूप यो निर्णय गर्नु सही रहेको छ । जस्तो कि हामीले कुनै पनि कार्यनीतिलाई अन्य तरिकाले नभएर एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूप हेर्नु पर्दछ । त्यसरी हेर्दा हामी दुई वर्षको प्रतिबन्धपछि जनतामा खुला रूपले समावेश भएका छौँ । जनता पार्टीसँग सबै मोर्चामा सहकार्य चाहन्छन्, सहयोग र समर्थन सँगसँगै जाओस् भन्ने सोचेका छन् । दोस्रो, राज्यले तीनबँुदेलाई इमानदारीपूर्वक लागू गर्न मानेको छैन । युवा कमरेडहरूलाई जेलमै सडाएर हामीलाई दबाब दिन चाहन्छ तर हामी तीनबुँदे कार्यान्वयन गराउँदै कमरेडहरूलाई मुक्त गर्न चाहन्छौँ । तेस्रो, संसदीय व्यवस्था, राष्ट्रघाती दलाल प्रवृत्तिलाई स्थानीय तहदेखि नै भन्डाफोर गर्दै देशभक्त, जनवादी एवम् क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्न चाहन्छौँ । चौथो, प्रतिबन्धका कारण देशभरि टुटेका सङ्गठनात्मक कडीहरूलाई पुनः जोड्न, परिचालन गर्न र फैलाउन चाहन्छौँ । पाँचौँ, जहाँ जनताको प्रत्यक्ष साथ र सहयोग छ ती ठाउँहरूलाई काङ्ग्रेस, एमाले, माकेको हातमा नछोडेर पार्टीकै वरिपरि गोलबन्द गर्न चाहन्छौँ । छैटौँ, सहर र गाउँ, मजदुर–किसान र नयाँ श्रमिक वर्ग सबैलाई एकताबद्ध बनाएर दलाल पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष तेज पार्न चाहन्छौँ । अन्य कैयौँ करणहरू पनि छन् जसले हाम्रो यो कार्यनीतिलाई उचित ठहर्याउँछन् । अन्य कुनै पनि कार्यनीतिले उल्लिखित आवश्यकताहरूलाई प्रभावकारी रूपले पूर्ति गर्न सक्दैनन् । यही कारणले हामीले स्थानीय चुनावबारे उल्लिखित कार्यनीति अवलम्बन गर्यौँ ।

    ५) हाम्रो पार्टीको जम्मेवारी

    हामीले केन्द्रीय समितिमा पार्टीको ऐतिहासिक जिम्मेवारीबारे चर्चा गर्दै भनेका छौँ– अनेकौँ साम्राज्यवादी विशेषतः अमेरिकी साम्राज्यवादी अतिक्रमणबाट देशलाई रक्षा गर्ने र स्वाधीनताको झन्डा उठाउने प्रमुख जिम्मेवारी हाम्रो पार्टीको काँधमा छ । दोस्रो, दलाल पुँजीवादी सत्ताका कारण श्रमिक जनताको जीवन क्षतविक्षत बन्दै गएको छ । भ्रष्टाचार, महँगी, तस्करी, सामाजिक विभेद चरम अवस्थामा पुगेका छन् । तिनीबाट जनतालाई रक्षा गर्ने साथै जनअधिकारका पक्षमा सङ्घर्ष गर्ने जिम्मेवारी पनि हाम्रो नै छ । तेस्रो, सारा देशभक्त, प्रगतिशील, जनवादी शक्तिहरूलाई एकताबद्ध बनाउने, परिचालित गर्ने र परिवर्तनतिर बढाउने जिम्मा पनि हाम्रो पार्टीको काँधमा छ । चौथो, सबैतिर छरिएर रहेका वा क्रान्तिवरिपरि गोलबन्द नभइसकेका श्रमिक जनतालाई जतिसक्यो चाँडो पार्टी आन्दोलनमा आबद्ध गर्ने जिम्मा पनि हाम्रो नै छ । पाँचौँ, विश्वभरि श्रमिक जनता र देशभक्त शक्तिहरूले भूमण्डलीकृत पुँजीवादविरुद्ध चलाइरहेका सङ्घर्षहरूसँग कदम मिलाएर सङ्घर्ष गर्ने, समर्थन गर्ने र मानव जातिलाई वैज्ञानिक समाजवाद–साम्यवादतिर अग्रसर गराउन प्रयत्न गर्ने जिम्मा पनि हाम्रो छ । छैटौँ हाम्रो जनप्रिय पार्टीलाई घेरा हालेर हमला गर्ने घोर प्रतिक्रियावादी, दलाल पुँजीवादी, साम्राज्यवादी, संसद्‌वादी, अवसरवादीहरूका तोडफोडकारी षड्यन्त्रलाई असफल पारेर एउटा क्रान्तिकारी अग्रदस्ता निर्माण गर्ने, पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवार पनि हाम्रो छ । यी जिम्मेवारी साँच्चै नै युगान्तकारी महत्वका छन् । यसलाई केन्द्रीय समितिले अवश्य पकड्ने जोड गरेको छ ।

    अन्त्यमा ऐतिहासिक बाह्रौँ केन्द्रीय समितिको बैठक उच्च जनवादको प्रयोग गर्दै पाँचबुँदे प्रस्ताव एकमतले पास गर्न सफल भयो । अनेक सङ्घर्ष गर्दै एकता र रूपान्तरण गर्न सफल भयो । विश्वपरिस्थिति, राष्ट्रिय परिस्थिति, एमसीसी, महाधिवेशन र स्थानीय चुनावबारे ठोस र वस्तुवादी निर्णय लिन सफल भयो । यो प्रस्ताव र यी निर्णयहरूको संरक्षण गर्नु, आत्मसाथ गर्नु र दृढतापूर्वक कार्यान्वयन गर्नु नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् कार्यकर्ताहरूको मुख्य दायित्व हो । हाम्रो पार्टीमाथि भइरहेका अनेकौँ रङ्गीविरङ्गी हमलाहरूको प्रतिरोध गर्न र सफलता प्राप्त गर्न यो केन्द्रीकृत दायित्व पूरा गरेर मात्र सम्भव छ । सारा क्रान्तिकारी कमरेडहरू हामी सबै यही बाटोमा दृढ आत्मविश्वासका साथ अगाडि बढौँ । हामी एक दिन महान् साम्यवादी क्रान्तिको ढोका खोल्न सफल हुनेछौँ ।

    प्रतिकृया दिनुहोस्