जनगर्जन संवाददाता



५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालीको आइतबार बसेको पदाधिकारी बैठकले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।
सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ ।
गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ ।
कोभिड—१९ को माहामारीले नागरिक पीडामा रहेका बेला नेकपा नेतृत्वको सरकार जनजीविकाको विषयबाट विमुख र निरपेक्ष हुँदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रहेको कांग्रेसले ठहर गरेको छ ।
