


नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन् । साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतको प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे ।
साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको बताए । राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचार–प्रसार गर्ने र नेपाल संवतको ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो ।
नेपाल संवत् ११४२ न्हुदँको उपलक्ष्यमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उहाँको अनुकरणीय योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिक माझ पुर्याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए ।
