


३१ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं (बजेट) अधिवेशन मध्यरात अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार मध्यराति सूचना जारी गर्दै असार ३० गते राति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य भएको घोषणा गरेको छ ।
पछिल्लो एक महीनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा छलफल नै हुन पाएन ।
एमालेको अवरोधकै कारण प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको छ । ‘संसदमा सहमतिका थुप्रै प्रयास गरियो, तर सहमति जुट्न सकेन् । जसरी पनि बजेट असफल गराउने डिजाइन देखिएपछि प्रदेशसभा अधिवेशन अन्त्य गर्नुपरेको हो, अब बजेट अध्यादेशबाट ल्याउँछौं,’ एक मन्त्रीले भने ।
ती मन्त्रीका अनुसार अब सरकारसामु अध्यादेशबाट पेस्की बजेट वा पूर्ण बजेट ल्याउने दुई वटा विकल्प छन् । पेस्की बजेटको आकार चालु आर्थिक वर्षको बजेटको एकतिहाइ मात्र हुने भएकाले अध्यादेशबाट पूर्ण बजेट ल्याउने सरकारको तयारी छ ।
अध्यादेशमार्फत सरकारले संसदमा प्रस्तुत गरेको ३६ अर्ब ५४ करोडकै बजेट ल्याउन सक्छ ।
सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता भएकाले यो कदम चाल्नु परेको सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टले बताए । ‘सरकारले सदनबाटै बजेट पास गर्न हर प्रयास गर्यो, तर प्रमुख प्रतिपक्षी टसकिमस भएन् । एक महीना बित्यो, केही सीप नलागेपछि सरकारले आफ्नो कदम चाल्यो,’ विष्टले भने ।
