


काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने र निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिने र उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ देखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ । त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।
त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ। खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।
