News Portal

  • आज गण्डकीका प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    जनगर्जन संवाददाता
    ६८२ पटक

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्। मुख्यमन्त्री भएको एक साताभित्रै उनले विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

    नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री भएका थिए। उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ। गण्डकी प्रदेश सभा ६० सदस्यीय थियो। उक्त संख्याको बहुमत ३१ पुर्‍याएर उनी मुख्यमन्त्री भएका थिए।

    यसबीचमा राष्ट्रिय जनमोर्चाका एक सांसद हटेका छन्। जनमोर्चाले पार्टी निर्देशन नमानेको भन्दै सांसदबाट कृष्ण थापालाई हटाएको थियो।  यसैबीच विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका छन्।  मनाङमा रहेका मुख्यमन्त्री पोखरेल आज बिहान पोखरा आउने कार्यक्रम छ। बाढीपहिरोपीडितको उद्धार तथा अनुगमनका लागि बिहीबार मुख्यमन्त्री पोखरेल मनाङ पुगेका थिए। मौसम खराब हुँदा उनी बिहीबार मनाङमै बसेका थिए।

    प्रतिकृया दिनुहोस्