News Portal

  • उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो ,के-के खुल्छ?

    जनगर्जन संवाददाता
    ५६१ पटक

    काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको हो। गत जेठ १४ बाट एक साता केही पसल खुल्न नदिई निषेधाज्ञा कडा बनाइएकोमा आजदेखि खुकुलो बनाइएको छ।

    आजदेखि किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ। फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्।यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ। यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजेसम्म खुल्नेछन्।

    तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ। तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ। यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

    विवाह तथा ब्रतबन्धमा बढीमा ७ जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ। तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन। विवाह र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।

    प्रतिकृया दिनुहोस्